पहिरो

-चन्द्र गुरूङ

हिजो राति
पहिरो गएछ मेरो गाउँमा
बगाएछ डाँडामाथिको गुम्बा
बगाएछ खोला–किनारको मन्दिर
र बगाएछ गाउँमाझको मस्जिद ।

तर बिहान सबेरै
लामा गुरुले स्वार्थको ‘माने’ घुमाइरहेको देखेँ
पण्डित बाजेले छल–कपटको प्रसाद बाँडिरहेको भेटेँ
र मौलवीले जातीयताको पर्खाल निर्माण गरिरहेको सुनेँ
सायद
थुप्रै बेथितिहरूलाई
पहिरोले पनि बगाउन नसक्दो रहेछ ।

हिजो राति
पहिरो गएछ मेरो गाउँमा
बगाएछ साना–ठूला घर–गोठहरू
बगाएछ गरिबका मन धान्ने हरिया खेत–बारीहरू
र बगाएछ असङ्ख्य चौपाया–दोपाया जीवनहरू
तर बिहान सबेरै
रामेको आँगनमा
घर बनाउँदा लागेको ऋण उठाउन
आइपुगेको साहूलाई भेटेँ
खेतबारीहरूमा थुप्रै सपनाहरू रोपेका
किसानहरूका आँखामा आँसु र व्यथा देखेँ
र हर घर–आँगनमा
मात्र मृत्यु पल्टेको सुनेँ
सायद
थुप्रै बेथितिहरूलाई
पहिरोले पनि बगाउन नसक्दो रहेछ ।

हिजो राति
पहिरो गएछ मेरो गाउँमा
बगाएछ गोदामहरूमा सुतिरहेका अन्नका बोराहरू
बगाएछ खेतहरूमा उभिएका लहलहाउँदो बाली
र बगाएछ थुप्रै लत्ता–कपडाहरू
तर अझै पनि
अशान्त भोकलाई
गाउँलेहरूको पेटमा अल्झेको देख्छु
निर्वस्त्र नाङ्गोपनलाई
पीडितहरूका अङ्गमा टाँस्सिएको भेट्छु

चन्द्र
थुप्रै बेथितिहरूलाई
पहिरोले कहाँ बगाउन सक्दो रहेछ ।

No comments:

About Me

My photo
Manbu-6,Gorkha, Kathmandu, Nepal
Most people ignore most poetry because most poetry ignores most people. - Adrian Mitchell