भुपिन व्याकुल


(1) नदीहरु मान्छेजस्ता हँुदैनन्

नदीहरु
मान्छेले झैं राजनीति गर्दैनन्
नदीहरु
मान्छेले झैं कुटनीति जान्दैनन्
निर्जीव संचेतनाका पर्खालहरु भत्काएर
कुरुप हातहरु उचाल्दै नदीहरु
हिलो छयापाछयाप गर्दैनन्
पानी बाराबार गर्दैनन् ।

नदीहरु
रङ बिभाजन गर्दैनन्
नदीहरु
जात विभाजन गर्दैनन्
नदीहरुको संविधानमा
सानो मूललाई पनि
सागर बन्ने उत्तिकै अधिकार हुन्छ
सानो खोलालाई पनि
सागर बन्ने उत्तिकै अधिकार हुन्छ
बिनाकुनै प्रतिबन्ध
पहाड चढ्न सक्छन् नदीहरु
पहाड फाँड्न सक्छन् नदीहरु ।

नदीहरु
मन लागे सुक्न जान्दछन्
मन लागे फुक्न जान्दछन्
तर कदाचित नदीहरु
मान्छेजस्तै झुक्न जान्दैनन्
मान्छेजस्तै दुख्न जान्दैनन् ।

नदीहरु मान्छेले झैँ
अहम्मा चोट लाग्ने भयले
सृष्टिले ठगेका गरिब र पुड्का खोलाहरु देखेर
टाढैबाट तर्किएर हिँड्दैनन्
नदीहरु मान्छेले झैँ
रङ नमिल्ने भयले
छुट्टै बाटो ताकेर हिँड्दैनन्
नदीको कालो पानी
नदीको सेतो पानीसँग मिल्न सक्छ
नदीको सेतो पानी
नदीको कालो पानीसँग मिल्न सक्छ
नदीहरु जन्मजात निग्रा हुँदैनन्
नदीहरु जन्मजात गोरा हुँदैनन्
नदीहरु आर्य मङ्गोलियन हुँदैनन्
हिन्दू मुस्लिम हुँदैनन् नदीहरु
बुद्धिष्ट क्रिस्चियन हुँदैनन् नदीहरु ।

नदीहरु
नदीहरुजस्तै हुन्छन्
मान्छेजस्ता हुँदैनन् ।


(2)हजार वर्षको निद्रा

एउटा जीवनमा
म हजारौं वर्ष सुतिसकेको छु
अब ब्युँझन चाहन्छु निद्राबाट

मानिसलाई कोक्रोमा हालेर
लोरी गाउँछ बुद्ध
ब्युँझाउने भनेर
बुद्धले पनि मलाई सुताएरै गएको छ
हिँड्दाहिँड्दै
सपना देख्न सिकेको छ मान्छेले
झन ईश्वरले त
निदाएरै सपना देख्न सिकाएको छ
पुस्तकका चिसा पृष्ठहरुभित्र
पुतलीहरु च्यापिएझैं
म च्यापिएको छु
दर्शनका बोझिला किताबहरुबीचमा
र मस्त निदाएको छु जीवनभरि
ब्युँझने सपना देखेर

ब्युँझन चाहन्छु अब म
हजारौं वर्षको गाढा निद्राबाट

(3) कुरुप कविता

एक्लै कति
सुन्दर भएर बसिरहोस् कविता

एक्लै कति
सौंन्दर्यको एकोहोरो प्रेमी बनिरहोस् कविता

आज त्यसलाई
कुरुप पार्न मन लागिरहेको छ

सबैभन्दा कुरुप राज्यसत्तामा पनि
सबैभन्दा सुन्दर देखिँदो रहेछ कविता

सबैभन्दा फोहोर
हिंसाको समुद्रमा नुहाएर
सबैभन्दा सफा भएर निस्कदो रहेछ कविता

आज त्यसलाई
कुरुप पार्न मन लागिरहेकोछ

आऊ प्रिय कविहरु
यसपल्ट कवितालाई
सुन्दरताको दासताबाट मुक्त पारौं
कलाको अनन्त बन्धनबाट मुक्त पारौं
र हेरौं
कविताको बत्ति निभेपछि
अझ कति अँध्यारो देखिदो रहेछ दुनियाँ
अझ कति खाली हुँदो रहेछ रिक्तता

के अन्तर छ
मन्दिर र वेश्यालयको नग्नतामा
के अन्तर छ
संसद भवन र आर्यघाटको दुर्गन्धमा
के अन्तर छ
न्यायलय र मासु पसलको क्रुरतामा
यिनीहरुकै पर्खालबाहिर
सबैभन्दा इमान्दार भएर उभिँदो रहेछ कविता

आउ प्रिय कविहरु
आजै कविताको मृत्यु घोषणा गरौं
र हेरौं
झन कति जीवन्त देखिँदो रहेछ
कविताको लासमाथि जन्मिएको कविता

हेरौं
कविताको मृत्युमा खुसीले
कुन हदसम्म बौलाउँदो रहेछ बन्दुक
कति टाढासम्म सुनिदो रहेछ सत्ताको अट्टहास
र कति उदास देखिँदो रहेछ कलाको अनुहार

सुन्दर कविताहरु लेख्नलाई त
सुन्दर समय बाकि नै छ
किन आज लेख्न मन लागिरहेको छ
समयको अन्तिम लहरसम्म नलेखिएको
सबैभन्दा कुरुप कविता

जसरी बन्दुकले लेख्छ
हिंसाको कुरुप कविता सहिदको छातीमा..............

एक्लै कति
कुरुप भएर बसिरहोस् कविता

(4)सडक र एम्बुलेन्स

साइरन बजाउँदै
एम्बुलेन्स दौडिरहेको छ
सडकमा

अस्पताल कहाँ छ
एम्बुलेन्सलाई थाहा छैन
एम्बुलेन्सलाई सिर्फ थाहा छ
भित्र सिटमा
समय सडकमा दुर्घटित
सख्त बिरामी सुतिरहेको छ
र उसलाई
यथासक्य चाँडो अस्पताल पु¥याउनु
अत्यन्त जरुरी छ

मान्छेहरु
छिटो अझ छिटो
भत्किएको सडक मर्मत गर
र एम्बुलेन्सको लागि खाली गरिदेऊ
यो सडक
यही सडकमा
साइरन बजाउँदै दौडिरहेको छ
एम्बुलेन्स

मेरो बिरामी देश बोकेर
सडकमा
एम्बुलेन्स दौडिरहेको छ

No comments:

About Me

My photo
Manbu-6,Gorkha, Kathmandu, Nepal
Most people ignore most poetry because most poetry ignores most people. - Adrian Mitchell