सुसङ्गत र उज्यालो नेपाली समाजको खोजी


-पूर्ण इन्फादा


अचेल हरेक मान्छेले आफ्नो स्वत्वको अहम् खोज्ने प्रचलन बढ्दै गएको छ । आआफ्नो क्षेत्रबाट आफ्नो जाति, संस्कृति, भाषा आदिको अहम्लाई खुट्याउँदै हिँड्नुपर्ने अवस्थाको सृजना भएको छ वर्तमान । जातीय, वर्गीय, साहित्यिक स्वत्वको खोजी गर्दै आएका छन् कवि चन्द्र गुरुङ “उसको मुटुभित्र देशको नक्सा नै थिएन” (कविता संग्रह २०६४) लिएर ।
चन्द्र गुरुङको काव्यिक यात्रा धेरै पुरानो नभए पनि उनको यस सङ्ग्रहभित्रका कविता लेखनको शैलीलाई हेर्दा धेरै खारिएका कविको लेखनभन्दा कम छैनन् । कविता लेखन यात्राको उनको यो पहिलो पाइलो हो । यस सङ्ग्रहभित्र समेटिएका कविताहरुमा कतिपय पाठकहरु यसअघि नै विभिन्न पत्र-पत्रिकामार्फत साक्षात्कार भइसकेका पनि छन् । उनले यस सङ्ग्रहभित्र समावेस गरेका ३३ थान कवितामा विभिन्न विषयवस्तुलाई समातेर विविध भाव र शैलीको प्रयोग गरेका छन् ।
कवि चन्द्र गुरुङका यस संग्रहभित्रका कवितालाई सर्सर्ती नियाल्दा विचार, कला र व्यङ्ग्यको त्रिकोणात्मक सम्मिश्रण अन्तर्घुलित भएको पाइन्छ । यसका साथै सरल भाषा र भावको अन्तर्घुलन पनि उनको कवितामा स्पष्ट रुपमा छचल्किएको भेट्न सकिन्छ । ग्रामिण परिवेशबाट टपक्क टिपिएका बिम्व र प्रतीकको बाहुल्यता छ उनका कवितामा । जुनसुकै पाठकले पनि उनका कवितालाई पढेर सजिलै भावबोध गर्न सक्छन् । उनका कविता पढेर सहजै रुपमा कविताको सौन्दर्यबोध हुन्छ ।
यस कविता संग्रहमा समावेश गरेका कवि चन्द्र गुरुङका कविताहरुमा युद्धको पीडा, गरिबी र विदेसिएका नेपालीको पीडा जताततै बोध गर्न सकिन्छ । अन्याय, अत्याचार आदि सबै सामाजिक बेथितिमाथि कविले नग्न व्यङ्ग्य गरेका छन् । नेपाली समाजमा गाउँदेखि सहरसम्म जुन किसिमको बेथिति र विसङ्गतिहरु छरपष्ट भएर रहेका छन् तिनीहरुलाई उनले आफ्नो काव्यिक बाटोमा बिनाहिचकिचाहट औंल्याई दिएका छन् ।
उनका कवितामा आदिवासीय पीडाको बोध जताततै पाइन्छ । नेपाली संस्कृतिको माया र ममता झल्किएको छ । आफ्नै देशभित्र माटो खोज्दै हिँड्नुपरेको व्यथा अचाक्ली उकुच पल्टिएको छ । शासकहरुका धारिला नङ्ग्राहरु भाँच्नुपर्ने अभिव्यक्ति झल्किएको छ । सामन्तवादी शासन प्रति विद्रोह उकेलिएको छ । शोषण, दमन र अत्याचारको दोहनको पक्षमा उभिएका छन् कवि चन्द्र गुरुङ । मिहीन र सटिक व्यङ्ग्यको संयोजन उनका कवितामा भएको पाइन्छ ।

तर अचेल यो बतास
मृत्युको त्रासले लखेटिएको
कुनै घाइते सिपाहीझैँ
बाटोभरि गुहार माग्दै आउँछ । (बतास पृ १७ )
यही माथिको कवितांशबाट झल्किएको छ कि कवि चन्द्र गुरुङ कति सटिक ढङ्गले काव्यको सौन्दर्यबोधलाई प्रकट गर्न सक्छन् भन्ने कुराको पुष्टि गर्न ।

यस कविता संग्रहभित्र समाविष्ट ३३ कवितामध्ये शासक र जुत्ताहरु, बतास, तिम्रो दरबार र हाम्रा घरहरु, अचेल मेरो गाउँ जस्ता थुप्रै कविताहरु सम्प्रेषणीय र समसामयिक विषयवस्तुलाई समेटेर लेखिएका छन् । मानवीय संवेदनालाई प्राथमिकताकासाथ कवितामा प्रतिबिम्बित गरेका छन् कवि चन्द्र गुरुङले कवितामा । उनका कवितामा देश, परदेश, गाउँ, सहर सबै सबै दुखेको छ । यथार्थतमा उनका कविताले सुसङ्गत र उज्यालो नेपाली समाजको खोजी गरेका छन् ।

About Me

My photo
Manbu-6,Gorkha, Kathmandu, Nepal
Most people ignore most poetry because most poetry ignores most people. - Adrian Mitchell