त्यो ‘घर !’


-चन्द्र गुरुङ


मेरा दुई आँखाबाट जस्तै
त्यो घरको चुहिने छानोबाट
आँसु मिश्रित पानी दर्किंदो रहेछ
मेरो मुटुजस्तै त्यो घरका भित्ताहरू पनि
निर्दयी समयको विश्वासघातले
ठाउँ-ठाउँमा चर्किएका रहेछन्
र मैलेजस्तै त्यो घरले पनि
आफ्नो छातीभित्र अँध्यारा कोठाहरूमा
थुप्रै पीर-व्यथाहरू थन्काई
ठोकेको रहेछ मुखमा भोटेताल्चा ।

मेरा खुट्टाहरूजस्तै त्यो घरका खम्बाहरू पनि
भरोसालाग्दो जमीन टेक्न नपाएर
केवल धराप-घरको टेको बनेका रहेछन्
मेरा एक जोर कानहरूमा जस्तै
त्यो घरका झ्यालहरूमार्फत पनि
खुशीको समाचार ओसार्दै
गर्न छोडेछ हावाले ओहोर-दोहोर ।

माथि, ओस्सिएर खुम्चिएको छानामा
घरको निधार कसैले सुकाउन फिँजाएको रहेछ,
उँडुस-उपियाँ पाल्न बाध्य
भित्ते-गालाहरू ओइलाएका पातझैँ भएछन्
र फुक्लिएर झरिसकेछन्
उसका मकै-भटमास पिस्ने बङ्गाराहरू ।

कठैबरा ! त्यो घर,
म जन्मेर हुर्के-बढेको घर !
देउरालीमा पाती चढाएर म परदेश लागेपछि
बा-आमाको हेरचाह गर्दै बसेको घर ! !

No comments:

About Me

My photo
Manbu-6,Gorkha, Kathmandu, Nepal
Most people ignore most poetry because most poetry ignores most people. - Adrian Mitchell