कविताको बारेमा केही कविताहरू

-अजेय

समय भएको छ
हामी थुप्रै कविताहरू लेखौँ
कविताहरूका बारेमा ।
यति कि
कविताहरू हाम्रा खल्तीबाट निस्केर
बजारभरि फैली जाओस–
बादामका ठेलागाडीहरूमा,
चियाका पसलहरूमा,
पानपसलका आडहरूमा
सलाई, बिँडी र सुपारीसित सजिएको देखियोस ।


कि कविताहरू
तीव्र गतिमा कुदी रहेका गाडीबाट हाम्फाल्दै
चोकमा उभियोस ।
चर्को घाममा
सारा बटुवाहरूलाई
आआफ्नो बाटोमा हिँड्ने निर्देशन देओस ।
कि कविताहरू
पुस्तकालयका दराजहरू फुटाएर भाग्दै, धूलो झार्दै
गल्ली,कुना, चोक, अड्डाखाना र ढाबाहरूमा
घुम्दै गरेका, कुरा गरिरहेका देखियोस– कि हामी जिउँदै छौँ ।
बाँच्न चाहन्छौँ
मानिसहरूझैँ मानिसका माझमा ।

कि कविताका पुलिन्दाहरू
अखबारझैँ पुगोस स्टालहरूमा–
एक रोचक खबर
या नौकरीको कुनै विज्ञापनझैँ
र झम्टियोस ती माथि युवाहरूका हूल ।

कि चुनावी पर्चाका सट्टामा बाँडियोस कविता नै
टाँसियोस बस्तीतिरका पर्खालहरूमा
गाउँका ढोकाहरूमा
र उडोस कागजको जहाज बन्दै
हावा र वर्षात्मा
संवेदना को सुगन्ध फिँजाउँदै ।

समय भएको छ
कि हामी थुप्रै कविताहरू लेखौँ
जीवनको बारेमा ।
यति कि
कविताहरूका हात समात्दै
जीवनका झन्झटहरूमा हाम्फाल्न सकौँ ।
बाँच्न सजिलो बनोस
र कविताहरूका लागि पनि बचोस
थोरै ठाउँ
त्यो सजिलो जीवनमा !

No comments:

About Me

My photo
Manbu-6,Gorkha, Kathmandu, Nepal
Most people ignore most poetry because most poetry ignores most people. - Adrian Mitchell