एकादेशमा खोसिएका खुसी


अपराजिता आचार्य

लियो टलस्टोइको एउटा कथामा एक व्यक्तिलाई कति जमिन आवश्यक पर्छ भनेर विचार गर्दा, कफिनमा राखेर गाड्दा लाग्ने लगभग ६ फिटभन्दा बढी जरुरी नपर्ने निष्कर्ष निस्क्यो । हामीले कथा त पढ्यौं तर कसलाई सोच्ने फुर्सद छ र ? मरेपछिको सोच्ने भए, बाचुन्जेल किन मानिसको असीमित चाहना हुन्थ्यो ? सबै चाहिन्छ हामीलाई- आफूले टेकेको जमिन, आँखाले देखेसम्मको आकाश । कञ्चनपुरमा बसेर दार्चुलामा काम गर्ने क्रममा, पटक-पटक भारतको भूमि, धार्चुला हुँदै दार्चुला पुग्नुपर्ने हुन्छ । मेरा सहकर्मी सबैलाई नराम्रो लाग्छ रे, आफ्नै देशको एउटा ठाउँ पुग्न भारत छुँदै जानुपर्दा । पश्चिममा महाकाली बाँधको लगभग सबै पानी भारतलाई दिएर सानो भागमात्र नेपाललाई राख्दा लाग्ने खल्लोपना अर्कै छ फेरि ।
विडम्बना हो सायद, जुन जमिनका लागि मारकाट गर्छौं, रिस फेर्छौं, कैयौं कागजमा हस्ताक्षर गर्छौं र कहिले एउटाको कहिले अर्काको नाममा नामसारी गर्छौं, त्यो जमिन त यथावत नै रहन्छ । अनविज्ञ नै रहन्छ, । हामी बाचुन्जेल र मृत्युपश्चात् पनि ।
आखिर के अर्थ रहन्छ र यो सबै क्रियाकलापको ? बहु-नागरिकताकोे प्रावधानको आवश्यकतालाई लिएर अनेकौं मुद्दा उठेका छन् । बहु-राष्ट्रिय कम्पनीहरूको प्रभुत्व बढ्दो रहेको बेला, धेरै व्यापारी र व्यवसायी अत्यधिक मात्रामा यात्रा गर्दा हरेकपटक भिसाको झमेलामा परिराख्न व्यवहारिक ठान्दैनन् ।
भर्खरै काठमाडौंमा पनि गैर आवासीय नेपालीले गैरआवासीय नेपाली दिवस मनाए । यस क्रममा दोहोरो नागरिकताको आवश्यकता औंल्याइयो । गैरआवासीय नेपालीका परिवारलाई नेपाल फर्किने बाटो खुला राख्न र आफ्नो मातृभूमिमा लगानी गर्ने हिसाबले लगानीकोष स्थापना गर्न प्रोत्साहनस्वरूप पनि उनीहरूलाई दोहोरो नागरिकताकाको आवश्यक देखाइयो । गैरआवासीय नेपालीको संघ, नेपालमा दर्ता हुने क्रममा नै छ अझसम्म ।
एकातर्फ राष्ट्र-राष्ट्रबीचको कडा विभाजनलाई केही हदसम्म खुकुलो बनाउनु पर्ने आवश्यकता औंल्याइएको छ भने अर्कोतर्फ राष्ट्र-राष्ट्रबीचको बढ्दो असमझदारी र अन्योलले निम्त्याएको युद्ध जारी छ । लेबनान र इजरायलका बीच भएको युद्धले जन्माएको अपि्रयताको भाव र त्यसमा अमेरिकाको नखोजिएको संलग्नता हाम्रो स्मरणबाट हराएको छैन । उत्तर कोरियाले आणविक परीक्षण गर्दा संयुक्त राष्ट्रसंघको कडा आलोचना, अमेरिकाको निरन्तर दिइने चेतावनी र युद्धको अर्को संभावना । सम्पन्न राष्ट्रबीचको शक्तिको खेल र त्यसमा पनि संयुक्त राज्य अमेरिकाको प्रभुत्व । कसरी बुझ्ने यी सबैलाई ?
अर्को जल्दोबल्दो विषय रहेको छ भुटानी शरणार्थीको । भुटानले अझै आफ्नो देशमा ठाउँ नदिइसकेको बेला अमेरिकाले स्थान र मौका उपलब्ध गराउने प्रस्ताव शरणार्थीलाई अनुचित लागेको छ । अनेकौं अड्कल छ यो प्रस्ताव किन आयो भन्ने बारेमा । यसलाई मात्र एउटा अवसरका रूपमा हेर्दा पनि हामीले यहाँ समाधानको सट्टा समस्या नै बढी आइरहेको देख्छौं । देशप्रेम भनेको कहाँबाट आउने भावना होला ? कहिलेकाहीँ सोच्छु, आखिर जहाँ बसे पनि, संसारको जुन कुनामा भए पनि के नै फरक पर्ला र ? आफूलाई सजिलो भए र आफू खुसी भए पुगिहाल्यो नि । आखिर जग्गा बटुलेर वा त्यसप्रतिको मोह पालेरमात्र के नै होला र ? तर जताबाट विश्लेषण गरे पनि आफ्नो ठाउँ प्यारो लागिहाल्छ ।
जर्ज बर्नार्ड शले भनेका छन्- ‘श्ाान्त संसार तिमीले कहिल्यै पाउने छैनौ, जबसम्म सम्पूर्ण मानव जातिबाट देशभक्तिको भावनालाई हटाउँदैनौँ’ । यो भनाइ निक्कै निर्मम लाग्न सक्छ । यसले समेटेको व्यङ्गय र सत्यको समिश्रण बुझ्न सक्छौं ।
कल्पना गर्न मन लाग्छ देश, संस्कृति, धर्म र प्रथामा नबाँडिएको एउटा सिंगो संसार । तर फेरि विविधतामा रहेको सौन्दर्यतर्फको आकर्षण अर्कै हुन्छ । र कुनै परिवेश नतोकेमा कसरी चल्ला संसार ? कसरी चल्छ प्रशासन ? कसरी चल्ला व्यवहार ? अनि कसरी व्यवस्थित होला कानुन र न्याय ? आत्मा सबैको सफा हुन्छ रे । तर मनमा आउने शंका, डाहले खै के बनाइदिन्छ मान्छेलाई कहिलेकाहीँ । कुन्नि कुन मोडमा पुगेर मान्छे बाठो हुन थाल्छ वा बाठो हुनुपर्ने आवश्यकता महसुस गर्न थाल्छ । अनि जरुरी हुन जान्छ नियन्त्रण पनि । पुलिस, आर्मी, राष्ट्र र सबै राष्ट्रका आ-आफ्ना नीति र संविधान । बढ्दो विश्वव्यापीकरणलाई ध्यानमा राख्दा बहु-राष्ट्रिय संगठनहरूको पनि बढ्दो महत्त्व रहेको छ । संयुक्त राष्ट्रसंघ होस् वा युरोपियन युनियन, सबै प्रणाली कार्यरत छन् देशभित्र गर्न नसकिने निर्णयको व्यवस्था मिलाउन ।
संसार बदल्ने कार्यसूची एकै जनाले लिएर हिंड्न सक्ने भए त नियन्त्रणका यति धेरै संयन्त्र किन आवश्यक पर्थे होलान् र ? हामी त मात्र आफ्नो ठाउँबाट स्वच्छ भावनाले आ-आफ्नो क्षेत्रमा लगनशील योगदान दिन सक्छौं । संसारै आफ्नो लागे यो त घेरै राम्रो तर जति जहाँ रमाएर आए पनि सबैका लागि घर र्फकँदाको खुसी अर्कै हुन्छ । प्रविधि, व्यवस्थापन र राजनीतिबाट पन्छिएर सोच्दा, यो खुसी सायद आफ्नोपनको एउटा अनुभूति, आश्वासन र पहिचान हो ।
देशमा रहँदा यस्ता सबै प्राप्तिलाई हामी सामान्य ठान्छौं । अझ कहिले डीभी पर्ला वा भिसा लाग्ला भनेर पर्खौंला आतुर भएर वा विदेशमै रहँदा पनि महसुस नहोला सबैलाई । तर छुट्टीमा वा स्थायी रूपमा घर र्फकँदा अनुभव हुन्छ- देशको सिमाना छुँदा वा विमानस्थलमा प्लेनको पाङ्ग्राले जमिन टेकेको झट्का अनुभूत हुँदा त्यो अव्याख्येय खुसीको अनुभूति हो- आफ्नोपनाको र आफ्नो देशको ।
अनेक कोणबाट चिरफार गरेमा त्यो खुसी त्यति ठूलो नलाग्ला तर कता-कता विवेचनाभन्दा भावना माथि आउँदो रहेछ । मूर्खता नै सही, बर्नार्ड शले भने जस्तै सिंगो मानवताबाट अलग्गिन चाहने प्रयास मान्ने हो भने । बुझ्न गार्‍हो पर्ने छैन, एउटा भावनाको संगालो मान्ने हो भने । र, यही एउटै संवेदना पर्याप्त हुन्छ सायद- एउटै भावनाको समष्टि हो सम्भवतः देशप्रेम भनेको ।
केही वर्षदेखि नेपालभित्र चर्किएको द्वन्द्व, उब्जिएको मतभेद र बढेको अन्योलले कुनचाहिँ नेपालीलाई खल्लो लाग्दैन होला ? जब गुम्सिएका असन्तुष्टि असह्य भएर व्यक्त हुन्छन्, त्यस बखत कतिसम्मको भयानक र अपि्रय परिस्थिति सिर्जना हुन्छ भनेर हामीले देखिसक्यौं । तै पनि सुल्भिmएको छैन वार्ता, समेटिएका छैनन् दृष्टिकोण ।
शान्ति स्थापना हुने झिनो आशामा अडिएको छ नेपाली सपना । यत्ति धेरै नेपालीको भविष्यको दाउ लागेको वार्ताको टेबलमा बस्नेहरूलाई पनि यसपालिको वार्ताको गाम्भीर्यको आभास पक्कै पनि छ होला । यही आभासको बलमा पनि वार्ता, वैयक्तिक अभिरुचि वा अहम्को बहस नबनोस् ।
मुलुक झन्डै झन्डै डुबेको आभास त प्रत्येक नेपालीले गरेका छौं । अब केबल प्रार्थना गर्न सक्छौं एउटा यस्तो वातावरणको जहाँ हरेक नेपालीले हलुका मनले राष्ट्रको विकास, निर्माण र सुव्यवस्थामा आफ्नो योगदान दिन सकौं । अब जे जति संगालेका छौं, शान्ति कायम भएमा त्यहीँबाट एउटा नयाँ सुरुवात हुनेछ ।
यसो सोच्दा, लियो टलस्टोइको कथाले निष्कर्षमा निकालेको ६ फिट जमिन पनि चाहिँदैन मृत शरीरको दाहसंस्कारमा विश्वास राख्ने अधिकांश नेपालीलाई ।
बाचुन्जेल एउटा राष्ट्र रहोस् देश विदेश जताततै छरिएका नेपालीको निमित्त- जसको स्मरणसम्ममा पनि शान्तिको अनुभूति र आफ्नोपनको आश्वासन पाइयोस् ।

No comments:

About Me

My photo
Manbu-6,Gorkha, Kathmandu, Nepal
Most people ignore most poetry because most poetry ignores most people. - Adrian Mitchell