कविता बुझिएन भन्दा बेकुफ भइन्छ । बुझ्न नसकिने कवितालाई पनि बुझेको जस्तो गरी चुप लागेर बस्नु पाठकको नियति बनेको छ । साहित्यका अन्य विधाभन्दा कविता ‘बुझिने हुनु’ को अर्थ भिन्न छ । गद्यविधाका आख्यान र निबन्ध रचना, प्रयोगका अतिशय दुरुहताले गाँजिएनन् भने ती बुझ्न सजिला हुन्छन् । तिनलाई बुझ्न सजिलो पार्ने तत्त्वहरू कहीँकतै कविता बुझ्नका लागि सहायक हुन सकिहाले भने तिनैका माध्यमबाट सधैँ कविता बुझ्न सकिँदैन ।
‘बुझ्नु’ भन्ने साधारण अर्थको शब्द कविताका सन्दर्भमा बेग्लै छ । यसको पाठकीय प्रयोगको अर्थ ‘कविता बुझिएन’ भन्दा भिन्न हुन्छ । एउटा प्रसङ्ग यहाँ उल्लेख्य छ । एउटा कवितासङ्ग्रह विमोचनका अवसरमा एक कविले पाब्लो नेरुदाका कविता बुझिन्नन् भन्न सकिन्न वा भन्नु हुन्न भने । सामान्यतः नेरुदाका कविता साधारण पाठकले उपलब्ध गर्न सक्दैनन् । उपलब्ध भइहाले पनि बुझ्न सक्छन् भनेर ठोकुवा गर्न सकिन्न । नेरुदाका कविता बुझ्नेहरूले जसरी बुझेका हुन्छन् त्यो तिनले पाएको पाश्चात्य काव्यलेखनको शिक्षा वा नेरुदासम्बन्धी समालोचनाको पढाइबाट विकसित भएको हुन्छ । नेरुदातिर नगएरै कतिपय नेपाली कविता नबुझिने खालका छन् भन्ने पाठकको गुनासो छ । पाठकले कविता बुझिएन भनेको वास्तवमै तिनको शाब्दिक अर्थ नबुझ्नुलाई भनिरहेको नभई कविताको संरचनागत आवरण छिचोलेर कविताको आशय वा कविताको मर्मभित्र पाठक प्रवेश गर्न नसक्नुलाई भनिएको हुन्छ । यस्तो भनाइमा कविताले पाठक छुन नसकेको पनि सङ्केत गरिरहेको हुन्छ । कविता बुझ्नु भनेको सामान्य अर्थको भनाइ हुँदैन । त्यसलाई गम्भीरतापूर्वक विचार र
विश्लेषण गर्नुपर्छ ।
साहित्यको एउटा सामान्य पाठकका हैसियतले कविता के हो भन्दा ‘पिँजराको सुगा’ वा भानुभक्तको ‘रामायण’ वा तीभन्दा यता विकसित पाठकीय चेतनाका लागि महाकवि देवकोटा, गोपालप्रसाद रिमाल वा भूपिका कविता आदि हुन सक्छन् । यहाँ ध्यान दिनुपर्ने के छ भने ती सबै कविका कविताको सन्दर्भमा पनि शिक्षक वा समालोचकले अर्थविस्तार गरिदिएअनुसार पाठकको समझ विकसित भएको हुन्छ । यस्तो व्याख्या र शिक्षणबाट पाठकको स्वतन्त्र पाठकीय दृष्टिकोण विस्तार हुँदै आएको हुन्छ । त्यसरी विस्तार भएको समझ व्यापक अर्थमा कविताको स्वतन्त्र भावना गर्न सक्ने हुँदासम्म कतिपय पाठक साहित्य वा कविताबाट विच्छेद भएर जीवनका अन्य क्षेत्रतिर संलग्न भइसकेका हुन्छन् । ती साहित्यप्रेमी पाठकमा त्यही स्तर र स्वभावका कविता भावन गर्ने क्षमता र संस्कारले जरो गाडिसकेको हुन्छ । यस स्तरका पाठकले नबुझ्ने कविता एकथरी छ भने यीभन्दा कवितालाई अझ बढी सहज ढङ्गले बुझ्न चाहने एउटा वर्ग छ । साथै कवितालाई बौद्धिक व्यायामको जिमखाना बनाएर त्यसैलाई संसारभरिका मिथ र पूरा कथा जोडेर सयौंं प्रकारले व्याख्या गर्दै तृप्ति लिने एउटा वर्ग पनि छ । कविताको दुर्बोध्यतालाई कविताको गुण र अवगुण मान्ने दूरदृष्टि स्पष्ट रूपमा नेपाली कवितामा छ ।
कविता नबुझिने हुँदै जानु प्रयोगवादको प्रभावले पनि हो । प्रयोगवादको प्रभावलाई सुसङ्गगत र काव्यगत आवश्यकतामा उपयुक्त हुने गरी प्रयोग गर्ने काव्यप्रतिभाले नेपाली काव्यसाहित्यलाई मानक कविता दिएका छन् । प्रयोगवादलाई कविताको अन्तिम बिसौनी मान्नेहरू कतिपय कविले प्रयोगवादी कविता रचनाभन्दा यता कविताको प्रवाह रोकिएको छ भन्ने मान्यताले अभिभूत भएर अत्यन्त दुर्बाेध्य कविता हामीलाई दिएका छन् । यस्ता प्रयोगवादले सिर्जना गरेको दुर्बोध्य क्लिष्टता सायदै गौरवको विषय हुन्छ ।
के कविता, के अन्य साहित्यिक रचना त्यो कुनै समाज, व्यक्ति र समयको भित्री छटपटी, आकांक्षा र जीवनगत अवधारणाको अभिव्यक्ति हुन्छ । कुनै कविता पढ्दै गर्दा व्यक्ति त्यसमा आफ्नो भावनासित तादात्म्य रहने अभिव्यक्ति खोज्छ । आफ्नो सामयिक जीवनको संघर्षका विकटताले घनीभूत पारिदिएको स्नायविक तनावको निकास खोज्छ । त्यसमा आफ्ना अमुखरित भनाइहरूलाई सम्पे्रषण गरिदिने शक्तिशाली शब्द खोज्छ । आफ्ना हर्ष र उमंगका सम्भावना र संकुल समयविरुद्ध प्रतिवाद खोज्छ । ती सबैको अभाव हुनाको साथै कविताले उसलाई अर्को दुर्बोध्य संसारमा हुल्न लाग्यो भने अनि ऊ कविता बुझिएन भन्न बाध्य हुन्छ । यसरी पाठकसित सम्बन्ध विच्छेद हुँदै गएर एउटा भिन्न ग्रहलोकको काव्याभिव्यक्ति बन्ने रहर प्रयोगवादीको एउटा कित्ताका कविताले देखायो र त्यो कविताकै लागि लाभप्रद रहेन । यसो भन्दैमा प्रयोगवादइतरका कविता च्याप्टा र अत्यन्त गद्यात्मक पनि हुन सक्दैनन् । राम्रा कविताका लागि विकल रहेका पाठकका लागि अत्यन्त सजिला, च्याप्टा, संवादस्तरका कविता पनि अभीष्ट छैनन् ।
समकालीन परिदृश्यमा युवा कविको प्रवेशपछि कविताले नयाँ धरातल र संरचनाविधि पाएको छ । यिनीहरूमा न अत्यन्त दुरुह प्रतीक र बिम्बको प्रयोगमोह छ, न कवितालाई अत्यन्त गद्यात्मक स्वभावमा ढालेर च्याप्टा कविता लेख्ने निष्चेष्टता । यी आफू बाँचेको समय र जीवनजगत्का चुनौती आत्मसात् गर्दै गद्यकविताको एक नितान्त सन्तुलित र प्रभावकारी रूपको अन्वेषणमा छन् र कतिपय अर्थमा पुराना गद्य कविभन्दा सफल छन् ।
नयाँ जमातले प्रयोगवादबाट उत्तराधिकारमा पाएको चमत्कारिक भाषिक शैली, रिमालको विद्रोहात्मकता र भूपिको व्यङ्ग्यात्मक विद्रोहको स्पष्ट भनाइहरूलाई काव्यऊर्जाका रूपमा प्रयोग गर्ने गरेका छन् । कविता कविभित्र व्याप्त रहने काव्यिक संरचनागत संस्कारको अभिव्यक्ति पनि हो । समकालीन कवि बिम्ब र प्रतीकलाई लोकजीवनबाटै लिने गर्छन् र तिनको प्रयोग लोकजीवनकै संकट, संघर्ष र अस्तित्वका प्रश्नलाई सामान्य लाग्ने तर काव्यिक प्रभावले भरपूर भाषाद्वारा अभिव्यक्त गर्ने गर्छन् ।
कविताको विलुप्त सहज सम्प्रेष्य गुण पुनः प्राप्त भएको समकालीन युवा कविका कविताले इङ्गति गर्छन् । कविता बुझिनु र नबुझिनुको दोसाँधबाट निस्केर समकालीन नेपाली मान्छेको भावना प्रतिनिधित्व
गरिरहेका छन् ।
No comments:
Post a Comment