एक निश्चित समयमा


एक निश्चित समयमा
-सुमन केशरी

एक निश्चित समयमा निँद्रा खुलिहाल्छ
कोल्टे फेर्दै, तन्ना ओढी फेरि सुत्ने चाहनालाई पर सार्दै
उठी बस्छे ऊ
औंलाहरू पडकाउँदै
ढोकाबाट छिरेर खटियाको दहिनेतिर सुतेकी ऊ
खुट्टाले छाम्दै छाम्दै चप्पल खोजिहाल्छे
र उठेर उभिसक्दा निपुण औँलाहरूले
जुरा बनाईसकेका हुन्छन् ।


चियाको पानी बसाल्न
कुकरमा दाल राख्न
पाउरोटी या परौठा सेक्न
सबैको एक निश्चित समय छ
सबै काम समयमा हुन्छ
घडीका काँडाहरूझैँ जीवन चल्छ
अविराम ।

एक निश्चित समयमा नुहाइधुवाइ गरी
केशमा फूल अनि निँधारमा टिका
ऊ सजाउँछे
र निश्चित समयमा ढोका छेउछाउ ऊ
चराझैँ डुल्छे ।

यस तालिकाबद्ध जीवनमा
बस एकै कुरा अनिश्चित छ
र त्यो हो उसले आफैसित कुरा गर्न पाउनु
आफ्नो भन्न पाउनु र आफ्नो सुन्न पाउनु
अब त उसलाई याद पनि छैन कि उसको
आफैसित कुरा गर्ने आवाज
कस्तो सुनिन्छ ...

कहिले सामुन्ने परेमा के

चिन्न सक्ने छ आफूलाई ।

No comments:

About Me

My photo
Manbu-6,Gorkha, Kathmandu, Nepal
Most people ignore most poetry because most poetry ignores most people. - Adrian Mitchell