बाँच्नुको वैयक्तिकता

-प्रकाश के.सी.


जस्तो,
पग्लिएका हुन्,
आँधीका उठानहरु
ज्वरो पछारेर खोँचहरुमा !
र त्यसपछि,
रहरको भग्नावशेष छाम्दै
अवशेष भिजेको,
प्रत्येक प्रहारको प्रकोपसँगै
(एक सर्को अनिँदो स्वाद)
यसरी आवेग सेक्दछन्,
कि-
जस्तो, उडेका हुन्
समयका एक्ला तापहरुमा !

सम्झनाका बगरभरि
-कोरिएका एपिटाफजस्तै,
-पोतिएका विश्वासको सूर्योदय
जिजीविषाका बेसुर बेरङ्गहरुमा
भावावेश एकरत्त लगाम छाड्दछन् ।
त्यसैले त,
मनभित्रको घाइते सिसिपस
अमूर्त लाग्छन् -पानी जस्ता ।
थोपा-थोपा आँशुका सञ्चयसँगै
पीरका जम्मै टाकुराहरु
सगोल डुब्नुको परावर्तन -लाग्दछन् ।
विमुढ उत्साह, विदेशी रातहरुभित्र,
प्रयत्नका गतिहीन तुफानहरु
पराजयको मिहीन कोलाज -लाग्दछन् ।

जलनको ‘तप्प-तप्प’ थकथकी
निर्वाध कागजजस्ता अनुभूति
अनि,
एक सरो सपनाको आड
उही आँधीका उडानहरुसँगै
निःशेष बाँचेर, शून्यका तरङ्गहरुमा
बाँच्नुको वैयक्तिकताको निश्वास बदल्छन्,
र, त्यही घडी
प्रवासी अँध्यारोको विप्ल्याँटोमा
एक मुस्ट दाउ हारेको
स्खलित आस्थाहरु शेष पर्दछन्,
-जस्तो
पग्लिएका हुन्
आँधीका उठानहरु
ज्वरो पछारेर खोँचहरुमा
ज्वरो पछारेर खोँचहरुमा ।

No comments:

About Me

My photo
Manbu-6,Gorkha, Kathmandu, Nepal
Most people ignore most poetry because most poetry ignores most people. - Adrian Mitchell