भूपीको सम्झना

श्यामप्रसाद अधिकारी
source: Kantipur Daily
"सबै बाटा रोमतर्फ लाग्छन्" भन्ने अंग्रेजीे उखानजस्तै शिक्षाका लागि त्यस बखत नेपालका सबै बाटा वनारसतर्फ लाग्दथे । तिनैमध्ये एउटा बाटो थाक खोला, पोखरा, बुटवल, भैरहवा र सुनौली हुँदै वनारसतर्फ लागेको थियो । त्यही बाटोले एउटा हृष्टपुष्ट थकाली केटोलाई वनारसतर्फ डोर्‍यायो । उसको नाउँ भुपेन्द्रमान शेरचन थियो । उसमा साहित्यिक प्रतिभाहरू जतिजति प्रस्फुटित हुँदै गए उसका नाउँ पनि परिमार्जन हुँदै गए । उसले नाटक लेख्यो "परिवर्तन" र आफ्नो विचारधारामा प्रगतिशीलता ल्याएअनुरूप नाउँ पनि परिमार्जन गर्‍यो, भुपेन्द्रमान शेरचन "सर्वहारा"। भूपी शेरचन भन्ने नाम त पछि मात्र रहन गएको हो ।
"सर्वहारा" र डेरा
भूपीका पिता हितमान शेरचन थाकखोलाका नामुद धनी व्यापारी मानिन्थे । उनको व्यापार थाकखोलाबाट पोखरा, बुटवल, भैरहवादेखि नौतनवासम्म फैलिएको थियो । वनासर पढ्न आउँदा भूपी आफ्ना जेठा दाइ योगेन्द्रमान शेरचन र भतिजी उर्मिलाका साथ अस्सी भन्ने ठाउँमा सिङ्गै घर बहालमा लिई बसेका थिए । धनी व्यापारीका छोरा भएकाले उनीहरूको सेवाका लागि भान्से, नोकर-चाकरसमेत नेपालबाटै लगिएका थिए । दाजु नेपाली कांग्रेस विचारधाराका थिए र उनी वनारस विश्वविद्यालयमा एमए पढ्दै थिए । वनारसका विद्यार्थी राजनीतिकरूपले दुइटा खेमामा विभाजित थिए- नेपाली कांग्रेस र कम्युनिस्ट । भूपीको प्रगतिशील विचारधारातर्फ झुकाव थियो । उनले नाटक "जनवाद" प्रकाशित गर्दा नामको पछाडि "सर्वहारा" टाइटल राखे । यो नाटक वनारस विश्वविद्यालयको सभाकक्षमा नेपाली छात्र संघले मञ्चन पनि गर्‍यो । जसमा एउटा झ्याउरे गीत थियो "धनवाद तिम्रो जनवाद हाम्रो ।" यो उनले आफ्नै स्वरमा गाएका थिए ।
नाम चलेका व्यापारी हितमान शेरचनको छोरा, कांग्रेसका कट्टर नेता योगेन्द्रमान शेरचनका भाइ "सर्वहारा" लेखी एक्कासि कम्युनिस्ट कसरी भयो ? सबै आश्चर्य चकित भए । यसबाट स्वयं कांग्रेसी दाइ पनि रुष्ट भए । दाजु- भाइबीच सैद्धान्तिक विवाद भयो र भूपीले आफ्नो डेरा सर्नु पर्‍यो । त्यसपछि अस्सीघाटको बंगाली टोलको एउटै घरमा कोठा लिएर हामी बस्न थाल्यौं ।
वनारसी पानमा "कोभन्दा को अग्लो ?"
एउटै घरमा डेरा लिई बस्दाका भूपीसँगका रमाइला सम्झना लेखी साध्य छैन । हामी खाना अस्सीको हीराबाबुको होटलमा खाने गथ्र्याैं । होटल डेराबाट पाँच मिनेट पर पथ्र्याे । फर्किने बाटैमा पान खान हामी सधैं अडिन्थ्यौं । पसलको ऐना सामुन्ने हामी दुवै उभिई कोभन्दा को अग्लो भनी नाप्दै लड्ने गथ्र्याैं । अन्तिम निर्णय दिने जज भने पान पसले हुन्थ्यो । ऊ बाठो थियो, कहिले मलाई त कहिले भूपीलाई अग्लो भनी दुवैलाई खुसी तुल्याई राख्थ्यो । साक्षी हुन्थे महेशकुमार उपाध्याय, द्रोणराज शर्मा र माधव गौतम ।
प्रथम श्रेणीको यात्रामा "केला खाओ भकाभक"
दाजुसँग सुखमय रहनसहन त्यागेर साधारण विद्यार्थीसरह भूपी बस्थे । उनको एउटा दुर्गुण थियो, पैसा भए कन्जुसी नगर्ने, नभए दुःख गर्न सक्ने । एकपटक दाइले सायद रोकाएर होला उनले मलाई भने- "श्याम भाइ, म नौतनवा गई आढ्तको मुन्सीको टाउको फोर्छु, पच्चीस रुपैयाँ पैंचो देऊ त ।" मैले भने- पैसाको चिन्ता नगर, म दिइहाल्छु नि ।" पछि मलाई पनि साथै हिंड्ने आग्रह गरे र हामी वनारसबाट "गान्धी क्लास" डब्बामा नौतनवा पुग्यौं । तर मुन्सीले पैसा पठाइसकेको रहेछ । उनको रिस मत्थर भइसकेको थियो तर उनले एक हजार भारु पुनः मुन्सीबाट लिए । फर्किँदा उनले रेलको फस्ट क्लास टिकट किनिछाडे । चुरोट पनि क्याप्स्टेनकै डब्बा किनिसकेका रहेछन् । बुकस्टलबाट महँगा पत्रपत्रिका पनि एक डङ्गुर डब्बामा भित्र्याइसकेका थिए । हामी दुवैको खाना रेल्वे क्याटरिक सर्भिस -केनलर) लाई अर्डर गरी झिकाए । यत्तिमै रेल गोरखपुर आएर अडियो र म चाहिँ एकछिन प्लेटर्फममा चहारेर आउँछु भनी निस्केँ । भूपीचाहिँ पत्रपत्रिकामा डुबेर डब्बैमा बसिरहे ।
नेपालीहरूको बढ्ता आवत-जावत हुने रेल्वे स्टेसनमा मङ्गोल कटका नेपालीहरूलाई फलफूल बेच्नेहरू हेय दृष्टिले "ए बहादुर वा ए साथी" भन्ने गर्थे । त्यस्तै एउटा केरा बेच्नेले भूपी बसेको डब्बाको झ्यालमा गई पटक-पटक "ए साथी, केला खाओ भकाभक, केला खायो भकाभक" भनी जिस्काएको भूपीलाई असह्य भएछ । उनी डब्बाबाट ओर्ली जिस्क्याउने केरावालको कठालो समाती अवधी भाषाको विशेषयुक्त गाली गर्दै मुड्की चिउरा खुवाई दिएछन् । त्यसबापत सबै पसले मिली भूपीमाथि हातपात गर्न लागेका रहेछन् । मैले देखिहाले र पुलिस बोलाई हालेँ । त्यत्तिकैमा रेल चलायमान भइहाल्यो । पछि भूपीले भने- "श्याम भाइ नभएको भए के हुन्थ्यो होला ?"
"पानी पानी खेल्न पाइएन हिरोइन नानी"
नेपाली छात्र संघको एउटा समारोहमा भूपीले लेखेको नाटकको मञ्चन गर्नुपर्ने थियो । निर्देशक र हीरोको रोलमा भूपी आफैं र हिरोइनमा स्कुल पढ्ने कन्याको पनि निधो भयो तर अन्तिम अवस्थामा ती कन्या नखेल्ने भइन् । विश्वविद्यालयमा पढ्ने कुनै पनि नेपाली केटीले हिरोइन बन्न मानेनन् । भूपी चिट्चिट पसिना काड्न थाल्ो । उनले भने "श्याम भाइ, केटीहरूलाई च्यालेन्ज गरौंन केटी बनेर ।" अन्तिममा मैले केटीको भूमिका गरिदिने निधो भयो र मलाई तुला राणाले साडी र शृङ्गार गरिदिइन् । नाटकको अन्तमा निर्देशकको हैसियतले दिने मन्तव्यमा उनको मुखबाट एउटा अंग्रेज कविको प्यारोडीको रूपमा एक्कासि निस्केको थियो- "पानी-पानी चारैतिर पानी, नाटक खेल्न तयार भएनन् कोई पनि हिरोइन नानी । यो अभिव्यक्ति केटीहरूका लागि व्यङ्ग र दर्शकहरूका लागि मधुर मनोरन्जन भएको थियो ।
"आ रहा है रङ्गीला स्टुडेन्ट…"
एकपटक भूपीलाई वनारस विश्वविद्यालयमा आयोजित भारतीय विद्यार्थीको गोष्ठीमा कविता पाठका लागि आमन्त्रण गरिएको थियो । भूपीले मलाई पनि लगे । मैले भनेँ हिन्दी कवि गोष्ठीमा नेपाली कविता कसले बुझ्छ र भाग लिन जाँदैछौं ? उनले भने- तिमी हिंडन हिन्दुस्थानी पनि सुनाइदिन्छु । नामुद कविहरू, निराला बेढव वनारसी, बेधडक वनारसी आदि-आदि कविले आफ्ना कविता सुनाए । भूपीको पालो आयो । उनले आफ्नो हिन्दी कविताको छोटा परिचय दिँदै भने- "यो कविता आजका स्टुडेन्टको बारे लेखिएको हो र उनैलाई म यो समर्पित गर्छु-
"वह देखो आरहा है रंगीला स्टुडेन्ट
पहन कर जर्किन और फुलपैन्ट
झाड चला है बदनपर सेन्ट,
करता सायकल सडकपर एक्सिडेन्ट,
वह देखो आरहा है रंगीला स्टुडेन्ट
होटल जाता है, आमलेट उडाता है,
और गर पडगया कभी गोल्डेन चान्स
और पडगया कोई पाला,
मिनिस्टरका दामाद बताता और
गभरनको बताता अपना साला,
वह देखो आरहा है रंगीला स्टुडेन्ट
खत लिखते बापत जानको पढ्ने मे मसगुल हुँ,
इधर लिखते मासुके जानको तेरो चरणोंका धुल हुँ ।
वह देखो आरहा है रंगीला स्टुडेन्ट……..
पिकनिक जातेहैं भांग और बियर उडाते हैं
होस्टल पहुँचते बाह्र बजे रात,
पार्टनर सुनाता दो चार बात,
भाडकर वाहंे अदा के साथ ले के आहें,
वह कहता, "अमा यार मुहब्बत बढी बुरी चिज होती है,"
ससुरी रात रातभर मुझे जगाकर खुद होस्टलमे सोती है,"
वह देखो आरहा है रंगीला स्टुडेन्ट…..
वनारस विश्वविद्यालयको त्यो खचाखच भरिएको हल तालिको गडगडाहटले गुन्जियो । चारैतर्फबाट, "ओन्स मोर, ओन्स मोरको आग्रह सुन्दा सार्‍है गौरबान्वित भइयो । त्यसपछि त भूपी विश्वविद्यालयका छात्र-छात्रामाझ "हीरो" नै भए । जसले पनि उनलाई विश्वविद्यालय प्राङ्गण होस् वा बाटोघाटोमा देख्दा भन्न थाले, "वह देखो आरहा हैं रंगीला स्टुडेन्ट….।"
विषय साम्यवादको तर बोलाइ अंग्रेजीबाजको
प्रगतिशील मानिने अखिल वनारस छात्र संघको अध्ययन मण्डल थियो । त्यसको सम्पादक मण्डलमा आजका प्रसिद्ध साहित्यकार डा. तारानाथ शर्मा, बालकृष्ण पोखरेल, कोषराज रेग्मी, चूडामणि रेग्मी, शान्तनु पन्त, भूपी शेरचन, बल्लभमणि दाहाल र म पनि थिएँ । अध्ययन मण्डलको काम कर्तव्यबारे छलफल गर्नु थियो । एकपटकको विषय थियो- "के साम्यवाद सबै सामाजिक आर्थिक र राजनीतिक समस्याको रामवाण हो ?" सहमतिमा कसैले र विमतीमा अर्कोले बोल्नुपर्ने थियो । तर अंग्रेजीमा बोल्नुपर्ने थियो । बोल्नेहरू जहाँसम्म मैले सम्झेको छु- चूडाबहादुर हमाल -पूर्व राजदूत) यज्ञ आचार्य, दिवाकार राणा, महेशकुमार उपाध्याय -पूर्व उपकुलपति), भूपी शेरचन, महाप्रसाद रिजाल, श्यामप्रसाद अधिकारी थिए । अंग्रेजी भाषाको यस कार्यक्रमलाई संस्कृत पढ्ने विद्यार्थीले खुवै आलोचना गरेका थिए । यसलाई "अंग्रेजबाजहरूको" कार्यक्रम भनी केहीले बहिष्कार पनि गरे ।
वनारस जीवनमा भूपीसँग भएका गतिविधिहरू र रमाइला सम्झनाहरू कति छन् कति । भूपी रोग शय्यामा रहेका बेला भेट्न उनी सार्‍है प्रसन्न भए । त्यस अवस्थामा पनि पुरानो कुरा, "को अग्लो" भन्ने पानवालाको कुरा सम्झी हामी हाँसेका थियौं । त्यसबेला "को अग्लो" भनाइ ख्याल-ख्याल हुने गथ्र्यो । अहिले मलाई गर्व छ, भूपी हमेसा साहित्याकाशमा कसैले पनि भेट्न नसक्ने अग्ला बने ।

No comments:

About Me

My photo
Manbu-6,Gorkha, Kathmandu, Nepal
Most people ignore most poetry because most poetry ignores most people. - Adrian Mitchell