जिन्दगी


झमक घिमिरे
Source: nepalikavita.com

समयका पानाहरुमा मानव आक्रोश पोखिए
मूर्दावाद र जिन्दावादका नारा लेखिए
थुप्रैको पुत्ला सल्काइए
जिन्दगी त्यहाँ उभियो, विना रङ्ग
ऊ शालिक जस्तै
मौन, स्थिर उभिरहेछ
अब जिन्दगीको नयाँ रङ्ग पोखिनुपर्छ ।
ऊ कञ्चन आकाश हेरिरहेछ,
जिन्दगी,
सङ्लो पानी छातीमा लिएर बगेको तमोर जस्तै बग्नुपर्छ,
ताम्य हिऊँ पहिरिएर हाँस्ने सगरमाथा
कहिल्यै गुनासो पोख्दैन,
छाती भित्र हिमनदी बगाएर,
प्रत्येक विहान घामको रक्तिम किरणहरु पछारिएर
सँधै हाँसीरहेछ सगरमाथा
हिऊँभित्र लुकेर पनि
उसले गुनासो कहिल्यै गरेन ।
ऊ हाँसिरहेछ,सेतो गुलाफ जस्तै
घामका किरणले गर्दा
चम्किला बनेका मूर्तिवत्,
हिमशिखरहरु सामु उभिएर
प्रश्न गर्न मन लाग्छ,
जिन्दगी आक्रोश र आवेग लिएर बाँच्छ किन ?
तमोरको सङ्लो पानी
कञ्चन आकाश
शालिक जस्तो स्थिर
जिन्दगी शान्ति किन हुन सक्दैन ?
जिन्दगी आकाश जस्तै कञ्चन
तमोरजस्तै सङ्लो हुनुपर्छ ।

No comments:

About Me

My photo
Manbu-6,Gorkha, Kathmandu, Nepal
Most people ignore most poetry because most poetry ignores most people. - Adrian Mitchell