बैशाखले ओभरकोट ओढेर चैतको गीत गाए पनि हुन्छ
उफ्रे हुन्छ छेपारोहरु मंसिरको घाममा बुर्कुसी मार्दै ,फूलले फूल कै जवानी कल्पेर बसे हुन्छ
प्रिय मानीसहरु हो ! सबैले इच्छित खुशी जिउन पाउनु पर्छ !!
सखारै झन्डाहरु मा युग बोकेर हिंड्ने जवान हातहरु
फूलदानीमा प्लाष्टिकका फूलहरु लाई सम्झेर सुकिला सम्झनाका कुरा नगर्लान,
नगर्ला नयाँ घामले कालो रातको ब्याकुल तिर्सनाको बयान
प्रिय शासकहरु हो! खरानी भित्र रहेको आगोको झिल्कोले पनि तापको बिहान ल्याउछ !!
भिरको रातो फरिया लाई गुराँसको संज्ञा दिने पथिकले
जब सम्म आँखाको पहेलपुरे गाजल पखालेर हिंड्न सक्दैन,
यो बस्तीमा म सगौरव घोषणा गर्छु
सुकिला दिनको खोजीमा एकलव्यहरु धनुबाणको जोहो गरी रहनेछ्न!!
यो मौसममा बादलुले छेकिएको मायालुको गाउँ सम्झेर
शशीकान्तले यौवनको चर्चा गीतमा गर्यो, त्यो म भन्न सक्दिन,
सक्दिन चन्द्रकुमारीको पसिनाका थोपाहरुमा कविताको हाँसो कोर्न
प्रिय मानीसहरु हो! पूर्वको रक्तिम बिहानी हराएको बेला घामको कविता कोर्न सकिदैन!!
मेरो युगको खुशी ताछेर अट्टालिकामा जब सम्म शासक हाँसो भर्छ
म मैते कामी लाई आरनमा बिरुपाक्ष लाई खडा गर्न हौस्याउन सक्दिन,
मन्दिरको घण्टा गुन्जाएर गमलाको फूल ब्युताउने अक्षरहरु लाई
प्रिय मानीसहरु हो! मुहारमा इन्क्लाबी मोहकता लिएर उचालौं !!
No comments:
Post a Comment