सम्बन्ध सूत्र


मणि लोहनी

विस्फोटमा ध्वस्त मन्दिरको बूढो पूजारी
बाबु जलाएको खरानी बगाउने
निर्दयी खोलाछेउ उभिएको, त्यो उदास बालक
र कुनै किशोर प्रेमीले लेखेको प्रेमपत्रजस्तो
सुरक्षित छ भन्दाभन्दै असुरक्षित बन्न पुगेको नागरिक
यतिखेर मेरा सहयात्री बनेका छन् ।

अब आफ्नो भन्ने कोही बाँकी रहेनन्
अनि म निस्किएथेँ यात्रामा
कतै जाउँ भन्थेँ, उहिल्यै
आफ्नाहरूको मायाले सताउँथ्यो त्यतिखेर
मोहले भुतुक्कै पाथ्र्यो, पर हुँदा
यदाकदा कतै गइहाले पनि
सताउँथ्यो यादले
सँगै रहँदा पनि कहिल्यै मिलेन सुख
जन्ती आउँथे, हृदयमा हुँदैनथ्यो शुभकामना
विना समवेदना आउँथे मलामी
र गाह्रो साह्रोमा कहिल्यै हुँदैनथ्यो सरसहयोग ।

जब थपिँदै गयो
उमेरसँगै दुःखको पहाड
सम्बन्धको जालोसँगै एकाङ्कीपन
आफन्तको न्यानोपन
बतासियो, साँझका चराहरूसँगै ।

अडिएन पर कतै पुगेर
बतासजस्तो उनीहरूको माया
इन्द्रेनीजस्तो आफ्नो सपना
र यौवनजस्तो उनीहरूसँगको सम्बन्ध ।

नबग्नु खोलो बगिरहृयो
रोकिएन फिरन्ते ऋतु र मौसम
बेहिसाब हिँडिरहृयो अभिशप्त समय ।

र यात्रामा निस्किएपछि
एक-एक गरी भेटिए
बूढो पूजारी
उदास बालक
र असुरक्षित नागरिक ।

1 comment:

Smita said...

hello sir,
namaste!

i hope you are doing okey there. Been long...have been visiting your blog time and again. Its always great!

About Me

My photo
Manbu-6,Gorkha, Kathmandu, Nepal
Most people ignore most poetry because most poetry ignores most people. - Adrian Mitchell