प्रेम बाँडे बढ्छ


डा अरुण बुढा

सानो छँदा बुबाले मलाई बोकेर गाउँ डुलाउने गर्नुहुन्थ्यो । बुुबाका हातका केही औंला थिएनन् । बुबाको मात्रै होइन, हामी बसेको टोलमा धेरैको समस्या यस्तै थियो । कसैको त हातै हुँदैनथ्यो । मुख बिगि्रएका र शरीरमा दागैदाग भएकाहरू पनि थुप्रै थिए । तर गाउँकै अर्काे बस्तीका मान्छे भने हामीभन्दा भिन्न थिए । उनीहरूको शरीरमा यस्तो केही थिएन । पछि बुबाले भन्नुहुन्थ्यो । कुष्ठरोगले यस्तो भएको हो । गाउँमा पापीलाई लाग्ने रोग लागेको भनेर घृणा हुनथालेपछि उपचारका लागि कालिकोट छाडेर बुबा डडेलधुरा आउनुभएछ । रोग र गाउँले बीचको सम्बन्ध बुझ्दै गएपछि मलाई गाउँका मानिसहरूसँग कुरा गर्न र उनीहरूको घर जान पनि डर लाग्न थाल्यो । के भन्ने हुन् ? कतै कुष्ठरोगीको छोरो भनेर गिज्याउने पो हुन् कि भन्ने डर सधैं लागिरहन्थ्यो ।
बुबा डडेलधुराको टिम अस्पतालमा पिएन काम गर्नुहुन्थ्यो । त्यो अस्पतालमा कालिकोटमा बुबालाई पापी भनेर हेला गर्नेदेखि मलाई कुष्ठरोगीको छोरो भनेर हियाउनेहरू पनि आउँथे । मलाई ती मानिस देख्दा रिस उठ्थ्यो । तर बुबा भने उनीहरूलाई झन् सहयोग गर्नुहुन्थ्यो । म अचम्ममा पर्थें । आफूलाई हेला गर्ने, घृणा गर्ने मान्छेलाई पनि किन राम्रो गर्नु ? सोध्दा बुबा भन्नुहुन्थ्यो, माया बाँडेमात्रै बढ्छ । मैले बुबाको यो वाक्यको अर्थ क्याम्पस सकुन्जेल पनि बुझिन ।
साठी सालतिरको कुरा हो । चाइनाबाट एमबीबीएस पास गरेर फर्किएपछि काठमाडौंका राम्रा अस्पतालमा काम गर्ने मेरो इच्छा थियो । त्यहीबेला मलाई सिनियर डाक्टर विजय पाण्डेले पर्साको बाँदरझुला भन्ने गाउँमा शिविरमा बोलाउनुभयो । इच्छा नहुँदा-नहुँदै पनि चिनेको दाइ भएकाले मैले नकार्न सकिन । पर्साको दुर्गम गाउँ, झिँगटीले छाएको बस्तीमा सानो प्राथमिक विद्यालयमा शिविर चलाइएको थियो । अस्पताल जान नसक्ने बाँदरझुलावासीको साधारण स्वास्थ्य जाँच गर्ने र घाउ सफा गर्ने काम मैले गरेँ । तर त्यहाँका बिरामी मसँग अत्यन्तै खुसी भएको पाएँ । उनीहरूले ईश्वर नै पाएजस्तो गरे । उनीहरूको मायाले म भावविह्वल भएँ ।
बाँदरझुलामा गरेको त्यो छोटो सेवाले मलाई बुबाको भनाइको सही अर्थ खुलस्त पारिदियो । माया बाँडेपछि साँच्चै बढ्दोरहेछ । टोलैपिच्छे अस्पताल भएको काठमाडौंमा म माया धेरै बाँड्न सक्दिनथेँ । त्यसैले अठोट गरेँ, माया बाँड्न म गाउँमै जानुपर्छ, जहाँ धेरैभन्दा धेरै मान्छेलाई त्यसको खाँचो छ ।
म डडेलधुरामा बसेर बिरामीको सेवा चार वर्षदेखि गरिरहेको छु । यहाँ म आफ्नै इच्छाले बसेको हुँ । यहाँ दिनहुँ सयौं मान्छे उपचारका लागि आउँछन् । बेला-बेलामा छाला ताछिएको टाउको, हाँगा रोपिएको गर्धन लिएर पनि मान्छे आइपुग्छन् । प्रसव वेदनाले छट्पटाउँदै गरेका महिलाहरू आउँछन् । अछाम, डोटी, दार्चुलाबाट दुई दिनसम्मको बाटो हिँडेर बिरामी यहाँ आइपुग्छन् । डाक्टरको नाताले उनीहरूको उपचार गर्ने जिम्मा मेरो हुन्छ । यति अमूल्य माया डडेलधुरा नबसेको भए मैले कहाँ बाँड्न पाउँथे र ?
शुद्ध नेपाली नबुझ्ने बिरामीहरू मैले डोटेली भाषामा बोल्दा अचम्म मान्छन् र आफ्ना कुराहरू निर्धक्क राख्छन् । बिरामीको अवस्था बुझेर डोटेली नबुझ्ने चिकित्सकलाई बुझाउन पाउँदा मलाई थप गर्व लाग्छ ।
डाक्टरी काम आफैंमा ठूलो होइन । ठूलो कुरा त माया, स्नेह हो । जुन मैले सुदूर पश्चिमका धेरै बिरामीहरूसँग बाँड्न पाएको छु । प्रेम, माया वा स्नेह जति बाँडयो, त्यति बढ्दै जान्छ भन्ने मेरो विश्वास हो । जहाँ प्रेम बाँडिन्छ, त्यहाँ घृणा कुनै ठाउँमा हुँदैन । त्यसैले प्रेम बाँड्नु नै मेरो लक्ष्य हो । त्यही नै मेरो विश्वास पनि ।

यो लेख एन्टेना फाउन्डेसन नेपालको टेलिभिजन तथा रेडियो कार्यक्रम 'मेरो जिन्दगी मेरो विश्वास'बाट साभार गरिएको हो ।

No comments:

About Me

My photo
Manbu-6,Gorkha, Kathmandu, Nepal
Most people ignore most poetry because most poetry ignores most people. - Adrian Mitchell