नयाँ वर्ष

र्जसराज किराती


शायद त्यहाँ तिम्रो लागि
यो पटक पनि
उन्माद र रहर बोकेर नयाँ वर्षआएको छ
यहाँ मेरो लागि भने
पुरानो हुँदै गएको आयूको खास्टो ओढेर
बुढो वर्ष आएको छ ।

मेरो लागि
सञ्चो विसञ्चो
सुख वा दुःख केही नसोध
र्सर्ूय-ग्रहणले मेरो त आकाश पनि मैलो परेको छ
म तिमीलाई के आशिर्वाद चढाउँ
जबकि बिषाक्त हात-हतियार बोकेर उडिरहेको
हवाई जहाजमुन्तिर
तिमिलाई मेरो शुभकामना भन्नु परेको छ ।

यो नयाँ वर्षआत्महत्या जस्तै गन्हाउँछ
भट्टी पसलको केटो जस्तै
एक लहर मुस्कान फाली राखेर
प्रत्येक गिलास क्रमशः रित्तो बनाउँछ
त्यो रित्तिएको गिलास र
सिद्धिदै गएको मुस्कान जति
मेरो भागमा परेको छ
तिमी भन्ठान्छौ
नयाँ वर्षे फूलको मुस्कान र चुम्बन ल्याइदिएको छ
हुन्छ;
त्यसलाई तिमिले
जूनको थालीमा राख
वा फूलको लालीमा राख
वस्तुतः यो नयाँ वर्षे हामी दुवै जनामाथि
अन्याय गरेको छ
यसो भनौँ -
तिमीले उताबाट हेर्दा रंगीन इन्द्रेनी देखिरहेछौ
यताबाट मैले
रङ्गहीन भएर त्यो आफैमा बिलिरहेको देखेकोछु
सम्भवतः हामीले
एउटै इन्द्रेनीलाई दुइतर्फबाट हेरिरहेछौँ
सम्भवतः हामीले
एउटै जीवनको दुइटा यात्रा गरीरहेछौँ
हुन सक्छ -
तिमी भट्टीभित्र पसी रहेछौ
म भट्टीबाट निस्किरहेछु
अहिले तिमीलाई मात लागेको हुन सक्छ
म भने थाकेर
वास खोज्न थालेको हुन्छु
फरक त के छ भने
तिमी फक्रिन लागेको र
म वैलिन थालेको
एउटै हाँगाका दुइटा फूल हौँ
म तिमीलाई भन्छु -
प्रत्येक नयाँ वर्षे तिम्रो र मेरो बीचमा
निःसन्देह युद्धको घोषणा गरेको छ
निःसन्देह जीवनभित्र युद्ध स्वयं प्रवेश गरेको छ
हामी योद्धा त हौँ
अपितु पराजित किल्ला र पर्खालमा लुकेर
पराजित मल्ल राजा जस्तै
आफ्नैबाट भागिरहेछौँ -
र प्रत्येक नयाँ वर्षे हामीलाई पिछा गरिरहेछ -
लखेटिरहेछ
तिम जेसुकै ठान,
मेरो विचारमा तिमी मुस्कानको डिलमा हाम्फाल्छौ
आँखाका छालबाट पोखिन्छौ
यति हो -
शुभ्र-शान्त दीप शिखा जस्तै
हामी आफैमा बलौँ र जलौँ ।

No comments:

About Me

My photo
Manbu-6,Gorkha, Kathmandu, Nepal
Most people ignore most poetry because most poetry ignores most people. - Adrian Mitchell