नयाँ वर्ष


भूपि शेरचन


नयाँ सरुवा भई आएको हुलाकेझैँ
झोलामा सुर्जेको एउटा पुलिन्दा बोकेर
छानामाथि वैशाख हिँडिरहेछ
भारी अल्छी पाइला सारेर
भित्ता-घडीको लङगूर हल्लिरहेछ उसको
पदचापले
ट्वाक्...ट्वाक्...ट्वाक्...ट्वाक्...
लिस्तेज भई आकाश पल्टेको छ
न्यास्रो अनुहार पारेर
बेमौसमको बर्षात
बेला-कुबेलाको बादलको गड्याङ-गुडुङ
आकाशलाई पखालो लागेको छ
विक्ष्णुमतीको फोहार हैजे पानी पिएर
ट्वाँ,
सहनाईकौ बेसुरा ध्वनीबाट निस्किरहेका छन्
हैजाका असङ्ख्य अदृश्य कीटाणुहरू
मध्याहृन दिन
चर्को घाम
सारा रुखहरूले आफ्नो आङ कन्याइरहेका छन्
फेरि एकचोटि
नयाँ वर्षआएको छ
फेरि एकचोटि
भित्ताको नयाँ क्यालेण्डरमा
आफ्नो जीवनको भिसा भुन्ड्याउनु छ
फेरि एकचोटि
संगी साथीहरूको बोकेर, उडिरहेका हवाईजहाज
र रकेटहरूमुनि बसेर
लेख्नु छ प्रियजनहरूको नाममा
सफलता, शान्ति र दीर्घायुको शुभकामना-पत्र ।

No comments:

About Me

My photo
Manbu-6,Gorkha, Kathmandu, Nepal
Most people ignore most poetry because most poetry ignores most people. - Adrian Mitchell