शासक र तर्क

दिनेश अधिकारी

ऊ भनिरहेथ्योः
अनुशासनहीनताको पनि एउटा हद हुन्छ
म यो देशको शासक पो हुँ त
मेरो अनुमति विना नै
खोलामा लहरहरू उठिरहेछन्
आफूखुसी फक्रिरहेछन् कोपिलाहरू
विना हिचकिचाहट नाचिरहेछन्
हाँगा/हाँगामा फूलका पातहरू,
चराहरू चिर्बिराइरहेछन् मनलागी
सूर्य, आफूखुसी
बादलसँग लुकामारी खेलिरहेछ
निर्लज्ज ! जँड्याहा जस्तै
लटपटिँदै बहिरहेछ बतास
सोध्दै नसोधी
रङ्ग फेरिरहेछ छेपारो
र, धमाधम
ऋतु परिवर्तन हुँदै गइरहेछ
मेरो उपस्थितिलाई देख्दै नदेखे झैं
कुखुरो, सिउर उचालिरहेको छ
बारी, विरुवा उमारिरहेछ
भन त ! यो कस्तो उद्दण्डता ?
आकाश, आफूखुसी वषिर्रहेछ
बादल, बौलाहाजस्तो गर्जिरहेछ
आखिर शासक हुँ नि
कसरी सहन सक्छु म यस्तो अनादर ?
मेरो इच्छाको कुनै पर्वाह नै नगरेर
हिमाल, झन् झन् अग्लिइरहेछ !

तपाईंलाई कस्तो लाग्यो उसको तर्क ?
उसको कुरा सुनेपछि
मलाई भने अब एकीन भइसकेको छ -
तर्क, साँच्चै नै नकच्चरो हुँदोरहेछ !
शासकजस्तै
तर्क, आफैमा लबस्तरो हुँदोरहेछ !!

No comments:

About Me

My photo
Manbu-6,Gorkha, Kathmandu, Nepal
Most people ignore most poetry because most poetry ignores most people. - Adrian Mitchell