विक्रम दाइ, धन्यवाद !

- चन्द्र गुरुङ
‘बधाई ! प्रत्येक क्षणलाई सूक्ष्मरुपले नियाल्नु र जीवनलाई अनुभव गर्दै जानु । राम्रो पुस्तकहरु अध्ययान गर्नु, नराम्रो पुस्तकहरुलाई नछुनु पनि र नयाँ नयाँ कविताहरु रचना गर्नु । जसरी काली गण्डकी आफ्ना छालहरुले लगातार रगडेर ढुंगालाई सुन्दर-चिल्लो शालिग्राम बनाउँछ ।’ मेरा कुनै राम्रा कविताहरु पढेपछि यसरी उत्साहजनक शब्दहरु कोरेर विक्रम दाइले मलाई इ-मेल गर्नु हुन्थ्यो । तर फेरि वहाँ लेख्नु हुन्छ - ‘तिमीले राम्रो कविता लेखेको रहेछौ । तर म भन्छु, तिमीले अझै त्यस लाई सुधार्नु वा खार्नु पर्छ । त्यो कवितालाई पुनः पढ, फेरि लेख र सुन्दर बनाऊ । त्यो कविता प्रकाशन गर्न हतार नगर । त्यस कवितालाई पटक-पटक पुनर्लेखन गर । कुनै पनि हालतमा त्यो कवितालाई राम्रो बनाऊ ।’ यी हुन्, विक्रम दाइका सल्लाह र सुझावयुक्त शब्दहरु, जब वहाँ मेरो कुनै कमजोर कविता पढ्नु हुन्थ्यो ।
यस्तो पनि हुन्छ हाम्रो जीवनमा, जब अचानक, कुनै नदेखेको र नभेटेको मानिसप्रति हाम्रो हृदयमा असीम माया र गहिरो आदरभावको सागर उर्लिन्छ । थाहा नै नपाईकन उमंग र खुशीका लहरहरु मुटुहरुमा बग्न थाल्छन् । जिन्दगी, साञ्चै रोमाञ्चक हुन्छ जब कुनै नभेटेको मानिससित चिनचान हुन पुग्छ । प्रायः विक्रम दाइ इ-मेलमा लेख्नु हुन्छ, ‘कुनै निम्न स्तरको साहित्य नपढ्नु, राम्रो र नराम्रो कवितामा फरक छुट्याउँनु ।’ दाइको प्रोत्साहनले मन र दिमागभरि एक प्रकारको खुशीको अन्तहीन लहर दगुर्छ ।
२००३ सालको शुरुतिर म रोजगारीको सिलसिलामा साउदी अरब भर्खर पुगेको थिएँ । ‘होमसिकनेस’ले मलाई निकै सताउँथ्यो । प्रत्येक दिन डियूटीपछि मेरो मन-मस्तिष्कमा गाउँ-घर, देश-प्रदेश, अग्ला हिमाल-पहाड, हरियो वन-जंगल र तरंगित खोलाहरुको सम्झना मात्र आउँथ्यो । अन्तमा, यी सम्झनाहरुबाट छुटकारा पाउने एउटा तरिका रचेँ र फुर्सदको सदुपयोग गर्दै कविताहरु कोर्ने निधो गरें । मैले ३० वर्षे उमेरसम्म कहिले पनि कविता रचेको थिईँन । मेरो साउदी अरबको बसाइको दौरानमा उपलब्ध फुर्सदिलो समयले मलाई कविता कोर्न प्रेरित गर्‍यो । यो नौलो कदमले मेरो दिल-दिमागमा घर-देशको सम्झनाहरुबाट म कम सताईँन थालेँ । यस प्रकार, म कविता प्रति २००३ को मध्यतिर आकर्षित हुन पुगें । भाग्यवश, त्यसदौरान, नेपाली साहित्य, प्रिन्ट मिडियाबाट इलेक्ट्रोनिक मिडियातिर बामे सर्दै थियो । त्यसदौरान, थुप्रै व्यक्ति र संघ-सँस्थाहरु नेपाली साहित्यको उत्थान र संरक्षणको लक्ष्यसहित देशभित्र र बाहिर वेवसाइटहरू शुरु गर्न लागेका थिए । साउदी अरबमा नेपाली पत्र-पत्रिकाहरु भेटाउँन गाह्रो थियो तर म नेपाली खबर र विभिन्न लेखकका साहित्यिक लेखहरु वेवसाइटहरुमा पढ्थें । फेब्रुवरी १३, ०४ को दिनमैले ‘अर्को भूपीको प्रादर्भाव’ शीर्षकमा प्रसिद्घ लेखक-अन्वेषक श्री कृष्ण प्रकाश श्रेष्ठको लेख कान्तिपुर दैनिकमा पढ्ने मौका पाएँ । त्यो लेख, कवि डिल्ली विक्रम इंग्वाबा (सुब्बा)माथि लेखिएको थियो । पढेपछि मलाई त्यो कवि र उनको कविताहरुबारे जिज्ञासा जाग्यो र म इन्टरनेट वेवसाईटहरुमा वहाँ र वहाँका कविताहरु खोज्न थालें । मैले विक्रम दाइका केही कविताहरु पढ्ने मौका पाएँ र सबैभन्दा ठूलो उपलब्धिको रुपमा वहाँले सञ्चालन गर्नु भएको ‘नेपाली कविता डट कम’को बारेमा थाहा पाउँन सफल भएँ । यो वेवसाईट, नेपाली कविताहरुको अन्तराष्ट्रिय इलेक्ट्रोनिक लाईब्ररीको रुपमा स्थापित गर्ने उद्देश्यले विश्वभरिका नेपाली कविताहरु छाप्नको लागि विक्रम दाइ सहितको टिमले शुरु गरेको रहेछ । मैले त्यो वेवसाईटमा विक्रम दाइलगायत अन्य थुप्रै प्रसिद्घ नेपाली कविहरुका कविता पढें । म एउटा प्यासाले सागर नै भेटेको अनुभव गरें । म विक्रम दाइका कविताहरुबाट निकै प्रभावित भएँ । विक्रम दाइका कवितामा प्रयोग हुने साधारण तर प्रभावशाली शब्दहरुले मेरो मन मुटुलाई छोयो । वहाँ आफ्नो कविताहरुका लागि विषयवस्तुचाहिं समाज, वरिपरिका मानिसहरु र आफ्नो चारैतिरका परिवेशबाट टिप्नुहुन्छ । वहाँ ती विषयवस्तुहरुलाई एउटा अस्थि-पञ्जरको रुपमा लिनुहुन्छ र त्यसमा जीवन सञ्चार गर्ने रगत र आकार प्रदान गर्ने मासु-छाला थप्नुहुन्छ र अन्तमा, एउटा गतिलो कविता रचना गरेर पुनः समाजलाई नै दिनुहुन्छ, जहाँबाट वहाँले त्यो कविताको निम्ति विषयवस्तु उठाउनु भएको थियो । वहाँका धेरै जसो कविताहरुमा नेपाली समाज र हाम्रो वरिपरि भेटिने मानिसहरुका सशक्त चित्र पाईन्छ । वहाँका कविताहरु क्यानभास हुन् जसमा हाम्रो समाजको सुन्दर तस्वीरहरु कोरिएका छन् । विक्रम दाइका कविताहरु पढेर मलाई कान्तिपुर दैनिकमा कृष्ण प्रकाश श्रेष्ठले वहाँमाथि लेखेको लेख एकदमै उपयुक्त लाग्यो ।
प्राय: एउटा विचार मेरो दिमागमा आउँछ कि, आजभोलि धेरै मानिसहरु कविता कोर्छन् र कविता लेखन एउटा यस्तो क्षेत्र भा’को छ. जसमा सबैले हात हाल्छन् । पाठकलगायत थुप्रै मानिसलाई ‘कविता लेख्नु धेरै सजिलो काम हो’ भन्ने एउटा भ्रम छ । वास्वमा एउटा राम्रो कविताको सृजना गर्नु सारै अप्ठ्यारो प्रक्रिया रहेछ भन्ने मैले विक्रम दाइबाट थाहा पाएँ । अन्तमा, विक्रम दाइ, धन्यजवाद ! तपाईको सहयोग र मार्गद-र्शनले गर्दा आज म एउटा अशल र कमसल कवितामा फरक छुट्टयाउन सक्छु । हो, एउटा राम्रो कविता सृजना गर्न मलाई अझै लामो यात्रा तय गर्नु पर्ला, तर म खुशी छु कि कमसेकम, म कविताको राम्रो पाठक चैं भएको छु र जीवनको यात्रामा राम्रा कविताहरु पढ्न संकल्पित छु ।

About Me

My photo
Manbu-6,Gorkha, Kathmandu, Nepal
Most people ignore most poetry because most poetry ignores most people. - Adrian Mitchell