बेसोमति नदीहरु
आफ्नो धार छाडी किनारबाट उक्लन्छनर, कुद्छन छानाहरुमाथिबाट
गल्लीहरुमा, चौकहरुमा अफ्ठ्यारै नमानी
बर्सातमा....
नग्न खोलाहरु
बगरहरु उक्ली सतहबाट हुइकन्छन्
र, उर्लन्छन मानिसहरुमाथि
बस्तीहरुमा, गाउँहरुमा लाजै नमानी
बर्सातमा....
धमिलो, आँखा नभएको
मृत्युमको छायाँ सल्बलाउँदछ - पानीमा
बर्सातमा....
मृत्युम
स्वयं गड्गडाउँदै बग्दछ - पानीमा
बर्सातमा नै त....
कुवाभित्रका भ्यागुताहरु
घमन्डले अझ उन्मत्त भै टर्टराउने गर्दछन
आफु मात्रै 'ठूलो' हुनुको भ्रममा
'हुनु' हुने गर्दछन - बर्सातमा !
'नहुनु' पनि हुने गर्दछन - बर्सातमा !!
त्यसैले
बर्सातमा....
बोल्न खोज्नेहरु नबोल्नु
बर्सातका झर.... झर.... माझ
'बोल्नु' को औचित्य कहाँ हुन्छ र ?
(2) "साउनका दिन"
बादलको रुवाले बुनिएको कम्बलले
तल गोडासम्म ढाकेर
दिउँसैदेखि डाडाँहरु मौन सुतिरहेका छन
आकाशको छानामा प्वालहरु परेछन क्यार
त्यसैले
ढ्वाङका ढ्वाङ पानी चुहिरहेका छन
केही आँखाहरु आकाशसंगै अबिरल दर्किरहेका छन
- निथ्रिन्न आँखाहरुको आकाश
- रित्तिन्न आकाशको समुन्द्र
अनि आँखाहरुको आकाश
पर्याय एक अर्काका
आँखाको आकाशभरि
झलमल्ल घाम नलागेको धेरै भो
आँखाको आकाशभरि
टहटह जून नलागेको निकै भो
- आँखाको आकाशमा कालो बादल मडारिरहेको छ
- आकाशको समुन्द्र आँधी चलेकोले छचल्किरहेको छ
साउनका दिनहरु
नाप्नै नसकिने गरि
नाप्नै नमिल्ने गरि
तनक्क..... तन्किएछन ।
(बाढी र पहिरोले पीडित सबैमा समर्पित कविता )
No comments:
Post a Comment