ईट्टामानव

विशद



ऊ ईट्टामानव
संसारकै ठूलो आतंककारी
किनकी उसले बोक्ने ईट्टा
सधै रातो हुन्छ ।

ऊ मोहम्मद मियाँका लागी
ईट्टाहरु ओसार्छ
मोहम्मद महोदय
राता रहस्यहरु
हरियो रङले ढाक्न खोज्छन्
ऊ विष्णुराम पण्डितका लागी पनि
ईट्टाहरु ओसार्छ
विष्णुराम महोदय
तुलसि मठमुनी
राता चिहानहरु लुकाउन खोज्छन् ।

मन्दिरमा बलि दिइएका
मस्जिदमा हलाल गरिएका
अनि सयौ वर्षदेखि
चुपचाप रगत बगाईरहेका
लाखौ ईट्टामानवका
थोपा-थोपा रगतहरु मिलेर
बन्छन् राता ईट्टाहरु
तर ऊ ईट्टामानव
आफैले बोक्ने ईट्टाको
रातो रङसँग
बेखबर छ ऊ ।

नयाँ मन्दिर बनाउन
उसलाई डाकिन्छ
नयाँ मस्जिद बनाउन
उसलाई बोलाईन्छ
ऊ मन्दिरको एक छेउमा थुक्दै
अर्को छेउमा गारो उठाउछ
ऊ मस्जिदको जगमा कुल्चदै
छतमा सुन्दरता बिछ्याउछ
उसलाई मतलब छैन
मन्दिरमा कसको भगवान छ
मस्जिदमा कुन अल्लाहको बाँस छ
ऊ पसिना मुछेर रोटी टोक्छ
ऊ रगत निचोरेर ढिडो निल्छ
उसलाई अल्लाहले मस्जिदमा बाँस दिदैन
ऊ मर्दा भगवानले कात्रो ओढाउदैन
त्यसैले ऊ कुल्चन्छ
राता ईट्टाले बनेका कुरुप मन्दिरहरु
त्यसैले ऊ हिर्काउछ
राता ईट्टाले बनेका राक्षसी मस्जिदहरुमा
तर आफैले बोक्ने ईट्टाको
रातो रङसँग
अझै बेखबर छ ऊ ।

ऊ ईट्टामानव
संसारकै ठूलो आतंककारी
किनकी उसले बोक्ने ईट्टा
सधै रातो हुन्छ ।

(२४-०६-०६६)

No comments:

About Me

My photo
Manbu-6,Gorkha, Kathmandu, Nepal
Most people ignore most poetry because most poetry ignores most people. - Adrian Mitchell