नानीहरु कति छिट्टो सिक्छन् !

TIKA BHAI

कति छिट्टो सिक्छन् नानीहरु
आमा हुन्छन् , बाउ हुन्छन्
कपड़ामा पोको पारेर डुङ्गाको नानी बनाँउछन्
नानी चेपेर आमा खाना पकाँउछिन्
बाउ बनेको रतन काममा जान्छ ।
घर मातेर फर्किन्छ ।
निहु खोज्छ घरमा
छिमेकका आँउछन् मिलाएजस्तो गछर्न्
फेरि खाना मन नपरेको बहानामा थाल झटार्छ रतने
भाँड़ाकुटीमा नानीहरु
एक दिनमै जीवनको आधै सच्चाई खेल्छन्
कति छिट्टो सिक्छन् नानीहरु !

कुसुम मिस भएर बिमला
हातमा लौरो बोकेर हिड़्छे
अरु विध्यार्थी बन्छन्
"यू होपलेस् ! वेयर ईज योर होम वर्क ? ''
यसरीनै चिच्याँउदै लौरो उज्याछिन्
अङ्ग्रेजीका सम्भ्रान्त गालीहरु बक्दै एक एक विध्यार्थीमाथी रोब जमाँउछिन् !
कति छिट्टो सिक्छन नानीहरु ।

रवि सँधै पुलिस अफिसर हुन रुचाँउछ
तगड़ा अमरे चोर हुन्छ
पकड़ा पर्दा अमरेले पुलिसलाई कागतको काल्पनिक पैसा तिरेजस्तो गर्छ ।
पैसा थापेर रवि खुट्टा हल्लाँउदै सानसित
फिल्मी अन्दाजमा हप्काँउछ
'अमरे ! आज त छोड़ेँ फेरि थानामा देख्नु नपरोस् !'
कति छिट्टो सिक्छन् नानीहरु !

हुल हुल छुट्टिएर पार्टी बनाँउछन्
झण्डा बोक्छन्
नारा लगाँउछन्
बाटो ढुका ढुक गरेजस्तो गर्छन् । फेरी कुटाकुट गरेजस्तो गर्छन् ।
खेल्छन् नानीहरु
खेल्दा खेल्दै नानीहरु जीवनको कति नजीक पुग्छन् ।
कति छिट्टो सिक्छन् नानीहरु ।

नानीहरु अचेल बन्दुक बोकेर हिँड़्रदैछन्
छुरी बोकेर हिड़दैछन्
माटोको डल्लालाई ग्रिनेड
बनाएर युद्धको खेल खेल्दैछन्
गोर्खाल्याण्ड र मुक्तिको तमाम नाराहरु गुञ्जाँउदै
यिनीहरु भाषण दिने खेल खेल्दैछन्।
काठको खुकुरी भिरेर कम्मरमा युद्धको ट्रेनिङ लिदैँछन्
कसरी कहाँ देख्छन् थाहा छैन
तर नानीहरु कत्ति छिट्टो सिक्छन् !

No comments:

About Me

My photo
Manbu-6,Gorkha, Kathmandu, Nepal
Most people ignore most poetry because most poetry ignores most people. - Adrian Mitchell