अक्षरमा प्रिय कवि

हेमन यात्री

आँखामा जमेको आँसु पग्लदा
कविताको हाँगाले हिर्काएजस्तै
था‘ पाएको हुँ
जीवनको यौटा रहस्य
हजुरआमाको ओंठबाट
अन्तिम वाक्य झरेको साँझ ।

मध्यरातको झ्यालबाट देखेको हुँ
पानीमा खसेको आमाको तस्बीर
हुरी चल्दाको सल्लाघारीमा
हतार–हतार हिँड्दै गरेका
स्कूले केटाकेटीहरु देखेको हुँ
कार्यालयबाट घर फर्कदा
बाटामै हराएका बाबु

मध्यसडकमा ह्वारह्वार्ती जल्दै गरेका
मिनीबसका ती अभागी यात्रुहरु देखेकै हुँ ।

अब हतार छैन मलाई
कहीँ पुग्न ।

पुरिदिएकै हुन् मेरा बाटाहरु
पहिरो खसेर कैयन पटक
फुटाएकै हुन् ज्वालामुखी मेरो छातीमा
चलाएकै हुन् आँधी
मेरा सपनाहरुका आकाशमा ।

वैरीहरु ! जसले
जीवनको मझधारमा खसालेको
त्यहीँ आँधीमा टेकेर
उक्लिएँ म
गुराँसको गाछीमा

मेरो देशकै रचनामा गुन्गुनाइरहेँ
चन्द्र–सूर्यको गीत
हिमालै ब्यूझने गरी ।

No comments:

About Me

My photo
Manbu-6,Gorkha, Kathmandu, Nepal
Most people ignore most poetry because most poetry ignores most people. - Adrian Mitchell