Ram Gopal "Asutosh"
(From Poet's Facebook )
मैले सजिलैसित माफी दिएँ
अँध्यारो देखी डराउने मेरो छोरालाई
गौरवको कुरा ऊ उज्यालो खोज्छ
उज्यालोको कुरा गर्छ
निर्मित उज्यालो खोज्दै
झिसमिसेमै झ्याल खोल्छ
र उज्यालोको स्वागतमा कविता बोल्छ
समयमै पर्दा लगाउँदै झ्यालमा
बहिष्कार गर्छ अन्धकारलाई
र बत्ती बाल्छ
एक निमेष
मात्र एक निमेष उज्यालोको भ्रममा
ऊ गृहकार्य भट्याउँछ
"हामी नेपाली हौँ हाम्रो भाषा नेपाली"
पूर्वको सिद्धान्त
र पश्चिमा शैलीका गुरुले घोकाएको
उही अढाई सय पुरानो
महेन्द्रमालामा उनिएको भाषाको भारले थिच्चिएर
चेप्टिएको उसको नाक
र भूगोलजस्तै गोलो उसको अनुहारको बुनोट
कहिँकतै मिल्दैन 'त' र 'ट' को व्याकरण
फूलजस्तै सुवासित विचार र भाषाको ज्ञान
सँगै बसेको
अलि बाठो निडर अर्को छोरो भन्छ
"बाबा भाषा नेपाली वा नागरिक नेपाली !
भूगोलको सीमाना नेपाल हो
वा संस्कृति सभ्यता
र संस्कारको सुन्दर माला हो नेपाल !
या तराई नेपाल हो वा पहाड हिमाल?"
गुरुले घोकाएको र छोराले घोक्ने गृहकार्यमा
बाह्र दर्जन फूलहरु भाषाविहीन कैद छन्
बेवारिसे छन् फूलहरुको संस्कृति
टुहुरा छन् संस्कार र सभ्यता
देशविहीन छन् फूलहरुको आदिबगैँचा
मैले निसङ्कोच माफी दिएँ
अन्धरकार जगाएर
अन्धकारसित डराउने मेरो सानो छोरालाई
कमसे कम ऊ अँध्यारोसित होसियार छ
सम्भावित उज्यालोप्रतिको विश्वास छ ऊभित्र
मैले माफ गर्न सकिनँ
उज्यालो ल्याउँछु भन्दै उज्यालो थुनिरहेका
राणाकालीन सभ्यतालाई
मैले क्षमा दिन सकिनँ
अन्धकारको विरोध गर्दै
अन्धकार रोपिरहेका ईश्वरहरुलाई
शाहकालीन दूतहरुलाई, मठाधीशहरुलाई
म उज्यालो मन पराउने फूल
समता उजेल्याउने स्थानीय वास्ना
समावेशी चम्काउने रैथाने विचार
गधा नबोक्ने विशुद्ध आस्था
मैले माफी दिन सकिनँ
खल्तीभरि गणतन्त्र बोकी
डोकोभरि एकतन्त्रको धुनि जगाउने ईश्वरहरुलाई
मेरो देशको नदी खाने छिमेकीभन्दा खतरनाक ठान्छु
फूलको पहिचान खाने हाइब्रीड ईश्वरहरुलाई
अतिक्रमणकारी छिमेकीभन्दा खराब मान्छु
ईश्वर र ईश्वरका दूतहरुलाई
जसले फर्काउँछ
झोलाभरि पैसा बोकेर बजार जाने फूलहरुलाई
मुठ्ठीभरि सामान दिएर
म माफी दिन सक्छु
पर्खालदेखि डराउने मेरो छोरालाई
तर कदापि माफी दिन सक्दिनँ
पर्खाल भत्काउँछु भन्दै
पर्खाल बनाइरहेका दूतहरुलाई
मठाधीश अनि ईश्वरहरुलाई ।
1 comment:
वर्तमान नेपालका दुर्दशाहरूले चित्रमय एउटा जोरदार कविता । सङ्क्रमणकालीन नेपालमा अस्तव्यस्त राजनैतिक र सामाजिक माहौलबाट आफ्ना स्वार्थसिद्ध गर्ने अवसरवादीहरूलाई कविले राम्रै नाङ्गो पारेका छन् आफ्नो यस कवितामा । एउटा असल कविको कत्र्तव्य नै आफ्नो सिर्जनामा समाजको रुप उतार्नु हो । मित्र अशुतोषले यो साहित्यिक कर्म जिम्मावारीका साथ सम्पन्न गर्नु भएको छ । तपाइँको आउँदो सिर्जनाहरुमा यस्ता विषयवस्तुले निरन्तरता पाइयोस, शुभकामना ।
Post a Comment