पालामको मूर्च्छना’ पढेपछि

-चन्द्र गुरुङ
Courtesy:Ruprekha Weekly
हुन त एक दिन अवश्यै पनि हाम्रो भेट हुने नै थियो । मजस्तै नै, प्रकाश पनि कविता कोर्न रुचाउने मान्छे र कवि भएको कारणले गर्दा नै कवि गोशथी, कविहरुको जमघट र कवितासम्बन्धि सेमिनारहरुमा पुगी राख्ने कवि हुन् । तर हाम्रो पहिलो भेट यसरी होला भनेर मैले सोचेको पनि थिईँन । चैत ३० गते २०६३ साल, शुक्रबारको दिन पाटनढोकास्थित यलमाया केन्द्रमा हिमाल एसोसिएसनद्वारा नेपाली कविता डटकमको सहयोगमा ‘वर्षान्त कविगोष्ठी’ को कार्यक्रम थियो । नेपाली कविता डटकमका संचालक कवि श्री विक्रम सुब्बामार्फत जानकारी पाएपछि त्यहाँ जाने योजना बनाएँ । यसरी ‘वर्षान्त कविगोष्ठी’मा युवा कवि प्रकाश थाम्सुहाङसित मेरो पहिलो भेट र चिनजान भयो र कार्यक्रमपछि प्रकाशको पहिलो कवितासंग्रह ‘पालामको मूर्च्छना’ मसित मेरो डेरा कोठा आई पुग्यो ।

बैशाख १ गते २०६४ साल शनिबारको दिन म धरान जान्दैथिएँ त्यसैले बाटोमा पढ्नका लागि आफ्नो बैगमा ‘पालाम्को मूर्च्छना’ पनि हालें । जब गाडी थानकोटको ओह्रालो आई पुग्यो, तब म पनि त्यो कविता संग्रह निकालेर पढ्न थालें । गाडी र समय चिप्लेको थाहा नै भएन । गाडी हैटौंडा आईपुग्दा म पनि संग्रहको अन्तिम कविता ‘आदिम आवाज’ मा आई पुगेछु । तर धरानसम्मको यात्राभरि दुई-तीन पटक ती कविताहरु पढी नै रहें । यो संग्रहमा मात्र २० ओटा कविताहरु छन् । प्रकाशको कविताबारे कवि विष्णुविभु घिमिरे लेख्नु हुन्छ-धेरै लेखेर पनि कहिले केही लेखिँदो रै’नछ , तर कहिले थोरै लेखेर पनि सबै लेखिँदो रहेछ । ‘पालामको मूर्च्छना’ पढिसकेपछि मलाई पनि यस्तो नै लाग्यो । पछि प्रकाशसितको भेटमा मैले २० ओटामात्रै कविता राखेको कारण खोतालें र उनले सजिलो जवाब दिए-पाठकले कविता पढ्न नरुचाउने समयमा धेरै कविताहरु राखेर संग्रह निकाल्न पनि बेकार नै छ । हुन पनि हो, अचेलको व्यस्त समयमा कविता पढने फुर्सद कोसित नै छ ! तर मेरो भनाइको मतलब कविताहरु बिल्कुलै नपढिने भनेको चाहिं पटक्कै होइन ।

प्रकाशको कविता संग्रहमा धेरै विशेषताहरु छन्-एउटा विशेषता हो थोरैमा धेरै समेट्न सक्नु । प्रायः कविहरु केवल एउटा विषयमाथि मात्र कविता कोर्न रुचाउँछन् । ती कविहरुका कविता एउटै विषयको वरिपरि फनफनी घुमिरहेका हुन्छन् । पाठकहरु पनि एउटै विषयमाथिको कविता पढ्दा-पढ्दा वाक्कै बन्छन् र एउटा निष्कर्षमा पुग्छन्-अब कहिलै पनि कविता नपढने । तर प्रकाशको जम्मा-जम्मी २० ओटा कविताहरुमा पनि मैले धेरै विषयहरुमाथि पढ्ने मौका पाएँ । प्रकाशले आफ्नो कलम धेरै विषयहरुमाथि चलाएका छन् । विषयको विविधताले यो कृतिलाई संग्रहणीय बनाएको छ ।

कविले आफ्नो कविता संग्रहको पहिलो कवितामा माया-पिरतीका कुरा गरेका छन् र विपरीत लिङ्गी युवक-युवतीबीच प्रेमको बीज अङ्कुरित गर्ने थुप्रै कारणहरुमध्ये एउटामा प्रकाश पारेका छन् :-

बागबजारको सडकपेटीमा हाम्रो जम्काभेट हुन्छ,
केही छिनलाई हाम्रो आँखा चार भएर सुखद दुर्घटना हुन्छ ।
-(सिन्ड्रेला)

त्यसपछि क्रमशः प्रेमी जोडीले टाढिनु पर्दा सम्झनाले उनीहरुलाई कसरी सताउँछ र माया-प्रेमको खेलमा धोखा नामक दुर्घटना घटे जीवनभरि के-कस्तो प्रभाव पर्छ, भन्ने विषयमा लेखेका छन् :-

सत्ते म तिम्रो सम्झनामा यहाँ
झरेको साकुराझैं क्रमशः सुक्दै गईरहेछु ।
- (निर्वासनमा तिम्रो याद)

सोल्टिनी !
गएर हेर्नु है नबिर्सी,
गाउँको फलैंचाँमा
हेर्नु एकैछिन उभिएर,
हाम्रो मायाको निसानी
बर-पीपल उम्री सुरक्षित छ अझै ।
- (सोल्टिनी )

प्रकाशले आफ्ना कविताहरुमा गाउँ-शहरमा भेटिने गरीबको आँसु र व्यथाको कुरा लेखेका छन् । यो वर्गले जीवनलाई जसरी देखेका र बाँचेका छन्, कविले त्यो जीवनको कथा हामीलाई सुनाएका छन् :-

उसले भारी बोक्न छोडेको छैन
फिदिम-याङनाम भारी खेप्छ
र दिनको पचास कमाउँछ ।
- (बलिहाङ लिम्बू )

साथै भट्टी पसलको भक्तपुरे ठर्रा, दुर्गन्धित बागमति, छली सहर, भद्रकालीमा बस्ने अनसन र सधैं जसो ओहोर-दोहोर गर्नु पर्ने बागबजारको सडकपेटीले हामी नेपालीलाई कतै न कतै छोई रहेको नै हुन्छ :-

यहाँका कङ्क्रिट महलहरु
मेरो गाउँको झुप्रो भन्दा सुन्दर छैनन्
यहाँका मायावी सुख सयलहरु
मेरो आमाको काखभन्दा आत्मीय छैनन् ।
- (बिरानो सहर )

बागमती किनारमा दुःखले बनाएको
छाप्रो भत्काउने क्रूर शासक
आधा तलब नबुझाएको निहुँमा उठिबास लगाउने
ती जंगलबासीहरु
सबै सबैसँग झोँक चल्छ
मात्र झोँक चल्छ ।
- (कालो रात र किरा )

कविले आफ्ना कविताहरुमा देशको वर्तमान अवस्थाको सही चित्रण गरेका छन् । विगत १०-१२ वर्षको माओवादी द्वन्द्वले ल्याएको अवस्थालाई आफ्नो कवितामा स्थान दिएका छन् :-

बतासे डाँडामा मनमोहक फुल्ने
बुकी फूलको मधुरिमा पनि
आजकल एम्बुसमा परेर घाइते छ रे
मधुश्रीमा आफ्नो जीवनको गीत गाउने कोइली पनि
छर्राको डरले बसाइँ सर्‍यो रे ।
- (एसिड वर्षा र मेरो गाउँ )

इराकी फतीमा, प्यालेष्टनी जामीला, गुजरातमा घटेको हिन्दू-मुस्लिम बीचको जातीय दंगा, कोसोभोको गृहयुद्घ र ट्वीन्स टावरमाथिको आतँकवादी आक्रमण जस्ता प्रसँगहरुले प्रकाश साँच्चै समय सचेत कवि हुन भन्ने आभास भई रहन्छ । कविले हिटलर, पोलपोट, इदी अमिन जस्ता निरंकुश शासक र उनको तन्त्रमाथि आफ्नो कलमले जोरदार प्रहार गरेका छन् :-

चैत-वैषाखको हुरीले नभए
समयको अपरिहार्य मागले
हेर्दै जाऊ है
अब त्यो सालिक ढल्छ-ढल्छ ।
- (अब त्यो सालिक ढल्छ)

मलाई सबैभन्दा राम्रो लागेको चाहिं, कविले आफ्नो लिम्बू सँस्कार र सँस्कृतिको बारेमा लेखेका छन्-भए न त रंगीन कविताहरु एउटै संग्रहमा ? यी रंग-विरंगी कविताहरु पढ्दा कुनै काव्य बागमा विचरण गरिरहेको अनुभव हुन्छ । प्रकाशले आफ्ना कविताहरुमा पक्लुङ खेल्ने कुरा कोरेका छन्र्, ईक्साको चुल्ठोको नुमाफुङ सजाएका छन्, बलिहाङको निर्दोष मुस्कान सम्झेका छन् , खुङखोलामा माछा मारेका दिनहरु फिर्ता ल्याएका छन् र च्याङबु्रङ बजाउँदै रमाइलो गर्ने समाज उतारेका छन् । कविले आफ्ना कविताहरुमा धान नाच्ने सोल्टा-सोल्टिनीको बारेमा भनेका छन्, हामी पाठकहरुलाई पूर्वेली रामनवमीहाट घुमाएका छन् र किराँती इतिहासका एकलव्य, काङसोरे र बलिहाङ जस्ता युग पुरुषहरुसित भेटाएका छन् । साथै जोखना हेर्ने फेदाङमा, फाक्ताङलुङ र गर्वले ठडिएको चामोलङ्मा बारे कविता रचेका छन् र सबै भन्दा महत्वपूर्ण त कविता संग्रहको शीर्षक नै छ ‘पालामको मूर्च्छना’ ।

अब भाकेर सेसेमाङ
तितेपाती र्छर्की पवित्र हुन्छु
सदियौँदेखि सहनसम्म सहियो
बलिहाङ !
एकलव्य !
काङसोरे !
आदिका नियतिहरु ….
- (विभेदको भाइरस र दल्छिनढुङ्गा )

कविले आफ्नो उमेरका युवा पुस्ताले सामना गर्नु परेको बेरोजगारी समस्या, भाइ-भतिजावाद र नातावादले बेरोजगारहरुमा उत्पन्न हुने नकरात्मक मनोदशालाई पनि समेटेका छन् :-

र असंतुष्टीमा च्यात्छु योग्यताका फाइलहरु
अब यसको कुनै अर्थ छैन
केवल फोस्रो कागज ।
- (विभेदको भाइरस र दल्छिनढुङ्गा )

साथै, हाम्रा नालायक नेताहरुका बारेमा सही चित्रण गरेका छन् । कवि यिनको गुण-व्यवहारबाट चकित भएर सोध्छन् :-

सत्तामा गएपछि
सद्दे मान्छे किन पागल हुन्छ ?
लुते मान्छे किन खुङ्खार बन्छ ?
भावुक मान्छे किन क्रूर बन्छ ?
- (देश अझै बिरामी छ )

यीलगायत कविले समावेशी लोकतन्त्र, जातीय स्वयत्तता, संविधान सभा, अन्तरिम संविधान जस्ता शब्दहरुको प्रयोगले यतिका वर्षसम्म दबिएका र पिछडिएका नेपाली जनतालाई सचेत गर्दै ‘नयाँ नेपाल’ निर्माणको लागि आहवान गरेका छन् :-

खुल्लामञ्चमा उभिएर म
उन्मुक्तिको, निस्सीमताको, स्वतन्त्रताको भाव बोकेको
नवीन प्रजातन्त्रको गीत गाई रहेछु
- (नवीनताको शङखघोष )

अन्तमा, प्रकाशका कविताहरु सरल छन् तर भाषाशैली चाहिं बेजोड । कवि आफै पनि राम्रा कविताको नाममा कठिन शब्द र जटिल बिम्बहरुको प्रयोगले आफ्ना कविताहरुलाई बौद्धिक विलासिता बनाउने पक्षमा छैनन् । कविको आफ्नो भनाइमा प्रायः कवि र लेखकहरु चरम बौद्धिकता अँगाल्ने लोभमा पाठक र समाजभन्दा बीस कदम अगाडि बढ्छन् । यसको परिणामस्वरुप पाठकहरु र कविताको बीच दूरी बढ्दै जान्छ र कविता एक्लो पर्छ । भन्नु पर्दा, सम्पूर्णरुपले ‘पालामको मूर्च्छना’ पढेपछि म यो निष्कर्षमा पुगें कि प्रकाशले आफ्ना कविताहरुमा हाम्रो समाज, हामी बाँचेको युग, स्थान र समयलाई राम्रोसित अठ्याउन भ्याएका छन् । अन्तमा, कविकै शब्दहरु सापटी माँगेर बस : यति भन्छु -सेवारो (अभिवादन) प्रकाशका कविताहरु ।

-काठमाडौँबाट

No comments:

About Me

My photo
Manbu-6,Gorkha, Kathmandu, Nepal
Most people ignore most poetry because most poetry ignores most people. - Adrian Mitchell