हिग्स बोसोन र कविता


Source: Nagrik Daily News

–सरस्वती ‘प्रतीक्षा’

चन्द्रमामा मानिसको अवतरण हुनु र जीव विज्ञानमा डीएनएको संरचना पत्ता लगाउनु जस्तै ‘हिग्स बोसोन’ पत्ता लागेको कुराले २०१२ को जुलाइ महिना निकै सनसनीपूर्ण महिना बन्न पुग्यो । भौतिकशास्त्रको यो अभुतपूर्व उपलब्धीले वैज्ञानिक जगतलाई मात्र तताएन, सिङ्गो विश्व र विश्वको बौद्विक जगतदेखि सर्वसाधारणहरुको ध्यान पनि राम्ररी नै तान्यो यसले ।

भनिन्छ, कुनै पनि पदार्थ निमार्णका लागि त्यसमा प्रदत्त परमाणुका कण र उपकणहरुको ठूलो भूमिका हुन्छ । हिग्स बोसोन पदार्थको एउटा त्यस्तो आधारभूत कण हो , जसले पदार्थको भारको उत्पत्ती र भारको निर्धारण गर्दछ ।

पक्कै पनि पदार्थको निमार्णप्रक्रिया र कविताको निर्माण प्रक्रियाका बीचमा धेरै नै अन्तर हुन्छ । पदार्थ अमानस प्रक्रियाबाट जन्मन्छ र कविता मानस प्रक्रियाबाट । त्यसो भए पदार्थ , हिग्स बोसोन र कविता बीचको सम्बन्ध के त ?

यहाँनेर उठाउन खोजिएको कुरा भारको हो । जुनसुकै पदार्थको भार जस्तै जुनसुकै कविताको पनि आफ्नै भार हुन्छ । पदार्थको भारले पदार्थको महत्व किटान गरे जस्तै कविताको भारले कविताको मूल्य र महत्ताको निर्धारण गर्दछ । कविताको यो भारलाई कसैले कलात्मकतासँग जोडेर हेर्लान् , कसैले वैचारिकतालाई मानक बनाएर यसको मूल्र्याकन गर्लान् । कविताको रुपपक्ष र लयका कुरा पनि उठ्लान् यहाँनेर ।

परापूर्वकालमा पनि कविताहरु लेखिए । आज पनि कविताहरु लेखिनै रहेका छन् । सयौं होइन , हजारौ होइन , लाखौ होइन , सम्भवत ः करोडौ अनि अरबौ अनि खरबौ कविताहरु लेखिए होलान् आजसम्म । कविताहरुको यो भीडमा कति कविताहरु बाँचे र अमर भए ? कति कविताहरु सौन्दर्यचेत् र स्पर्शनीयताको कसीमा खरो उत्रन सफल भए र युगान्तकारी बन्न पुगे ? कविताको यही अमरत्वसँग जोडिएको हुन्छ कविताको भार ।

सरल शब्दमा भन्नु पर्दा जुन कविताहरुको भार धेरै भयो , तिनै कविताहरुले युगान्तकारी कविता बन्ने सौभाग्य प्राप्त गरे । जनस्वीकृति वा लोकस्वीकृति , प्रयोगात्मकस्वीकृति वा बौद्विकस्वीकृति–यिनै स्वीकृतिहरुको माझ जुन कविताहरुको भार बेमिसार भो , तिनै कविताहरु कालजयी र अजम्मरी कविता बन्न पुगे ।

यस्ता कालजयी कविताहरुको आविष्कारमा महत्वपूर्ण भूमिका खेल्ने आधारभूत तत्व के हो त ? समयको बाढीमा बाढी नै बनेर नबग्ने र जहिले पनि थिग्रिएर , उत्रिएर काव्यिक समुद्रको यात्रामा यात्रारत् रहने कविताहरुको आधारभूत वैशिष्ठ्य के हो त ?

ग्रीक साहित्यका महाकवि होमरको एलियड र ओडेसी होस् वा महाकवि दाँतेको डिभाइन कमेडी , आज पनि उही र उस्तै ताजगीकासाथ यिनका काव्यिकताको रस्वादान गरिन्छ । जे.के. रोलिङको तिलस्मिता र स्टिभ जब्सको आइपड र आइप्याडमा अल्झिएको हाम्रै देशको नयाँ पुस्ता पनि उत्तिकै रुचिका महाभारत र श्रीस्वस्थानी पढ्छ । गोपालप्रसाद रिमालदेखि श्यामल, विमल निभा पढ्छ । हरिभक्त कटुवालदेखि तीर्थ श्रेष्ठ, मनु मन्जिल पढ्छ ।

पदार्थको आधारभूत कण हिग्स बोसोन भए जस्तै पक्कै पनि कविताको पनि आधारभूत कण अर्थात हिग्स बोसोन हुन्छ , प्रत्येक कविताभित्रै । यही हिग्स बोसोनले अजम्मरी कविताहरुको चमत्कारिक भार र मूल्य निर्धारण गर्ने गर्दछ । एउटा कविको निम्ति कविता लेख्नु जति सजिलो छ , त्यत्ति नै गाह्रो छ आफ्नो कवितामा नयाँ शैली र सोचको आविष्कार गर्न ÷नयाँ बिम्ब र प्रतीकको उत्पत्ती गर्न÷सबैभन्दा ठूलो कुरा पृथकता र पृथकताको नयाँ रङ्गको क्यानभास रच्न ।

हिजोका देवकोटाहरु त हिजो नै जन्मिसके । हिजोका भूपि शेरचनहरु त हिजो नै जन्मिसके । आजको युगले मागिरहेको कवि भनेको हिजोका तिनै देवकोटा र भूपि शेरचनहरुको पुनरावृत्ति होइन । कसैले आजको समयमा आएर पनि उही भानुभक्तकालीन छन्द र लयको रटानमा आफूलाई उभ्याएर कवि भनाउँन खोज्छ भने त्यो पूरातन सोचको बाडुली सवाय अरु केही हुनै सक्दैन । समसामयिकता र नवीनताको श्वरलाई नबुझ्ने मान्छे कवि हुन सक्दैन । भए पनि राम्रो कवि हुनै सक्दैन । त्यसो त काव्यिक ऐतिहासिकताको ऐतिहासिक मूल्य आफ्नो ठाउँमा छ , फेरि पनि समय सापेक्ष कविता रचनाको चेतले कविको आत्मा धड्किनै पर्छ । हेर्नुस् त ! हिजोका दिनमा गद्य कवितालाई कविता नै होइन भन्ने कथित छन्द कविहरु आज समयको श्वरलाई स्वीकारेर कसरी हिडिरहेछन् ! अन्ततोगत्वा ः कविताको बहुआयामिकतालाई मान्न जो कोहीलाई कर त लागिहाल्छ ।

कविताको हिग्स बोसोनको कुरा गर्दा कविताको आधारभूत सौन्दर्यशास्त्रलाई नजरअन्दाज गर्न मिल्दैन । एक र अनेक कारणले गर्दा प्रसिद्व लेखक नारायण ढकालको इमान्दारिता र स्पष्टवादिताले जहिले पनि छुन्छ मलाई , र छुन्छ उनको निबन्ध ‘कविताको सौन्दर्यशास्त्र’ले पनि । उनले सो निबन्धमा लेखेका छन् –‘‘रुसी कवि मायकोब्सी विश्वका ठूला कविको सूचीमा अग्रस्थानमा पर्छन् तर उनले ‘लेनिन’ खण्डकाव्य लेखेर कविताको धर्म र संरचना दुवैमा ज्यादति गरे । समीक्षकहरु भन्छन्–मयकोब्सीको जीवनको असफलता नै यही हो ।’’

जबजब कवितालाई कविताको आकाशमा स्वछन्द उड्न नदिएर राजनैतिक तबेलामा बाँध्ने र कविताको मुखमा नारा र गालीगलौजहरु कोच्न थालिन्छ , कविताको हविगत हेरिनसक्नु कै हुन्छ । पोखरामा संचालित गण्डकी टेलिभिजनको एउटा अन्तर्वार्तामा मैले संचारकर्मी रामचन्द्र राईलाई भनेकी थिए–‘राजनैतिक आस्था हुनु एउटा कुरा हो ।......कविता पनि राजनीतिबाट निरपेक्ष हुन सक्दैन ।...कविता राजनीति पनि हो तर कविता भन्नु राजनीति मात्र होइन ।’

यहीनेर नारायण ढकालको ‘कविताको सौन्दर्यशास्त्र’ सबैभन्दा बढी अर्थपूर्ण लाग्छ मलाई । कवि श्यामलले जस्तै उनले पनि कवितामा विचार र कलात्मकताको पक्षमा खुलेरै वकालत गरेका छन् । नेपाली साहित्यले, खास गरी प्रगतिवादी साहित्यले बुझ्न जरुरी छ , अहिलेको साहित्यको माग भनेको साहित्यमा बाबुराम र प्रचण्ड होइन , साहित्यमा गार्सिया लोर्का र पाब्लो नेरुदा हो । साहित्यमा अवतारसिंह पाशको अगाडि मोहन वैद्यको कद पनि होचो लाग्छ । तर उदेगलाग्दो कुरा, अवतारसिंह पाशलाई किन मोहन वैद्यको चश्मा लगाएर हेर्छन् हाम्रा प्रगतिवादी समालोचकहरु ?....यहीनेर , हो यहीनेर कविताको सौन्दर्यशास्त्र नराम्ररी पछारिएको भान हुन्छ ।

अर्कोतिर कविता सरल हुनुपर्छ भन्दै सरलताको नाममा ठूलो वर्णमालाको वकालत गर्नेहरु पनि नभएका होइनन् । कवि तथा निबन्धकार रोशन शेरचनले भने झैं ‘सरलता, सरलता भन्दै सरलताको रटान गर्नेहरुमा ज्ञानको कमी हुन पनि सक्छ ।’ इन्द्रेणीमा सात रंग हुन्छ भन्दैमा संसारमा सात रंग मात्र हुन्छ भनिसोच्नु पनि आफैमा मूर्खता सिवाय केही हुन सक्दैन । कविताको रंग त अनेक्अनेक् हुन्छ , बहुरंगी हुन्छ कविता ।

कहिलेकाही हामीलाई लाग्छ, हाम्रो जीवन अत्यन्त सरल राजमार्गमा हिडिरहेको छ । कहिलेकाही लाग्छ , जीवन जटिलताहरुको बक्ररेखामा असिनपसिन छ । अरु त अरु , हामी आफ्नै मनभित्र उठ्ने सबै छालहरुको नाम थाहा पाउँदैनौ । आफ्नै मनभित्र उठ्ने सबै छालहरुको अर्थ बुझ्न असमर्थ हुन्छौं । आफ्नै मनभित्र उठ्ने सबै छालहरुको आवृत्ति त हामीलाई थाहा हुदैन भने के जरुरी छ कि लेखिएका सबै कविताहरु बुझ्नैपर्छ भन्ने ?...कहिलेकाही सम्पूर्णरुपमा बुझिएको कविता भन्दा अलिअलि बुझिएको कविता झन् मीठो हुन्छ । प्रेमको रहरलाग्दो झंकार जस्तै कहिलेकाही अलिअलि अर्थ लागेलागे झैं, अलिअलि अर्थ नलागेनलागे झैं हुने कविताको झंकार झन् सुन्दर हुन्छ ।

भानुभक्तको ‘रामायण’ सबैले बुझे भन्दैमा टी.एस. इलियटको ‘वेस्ट ल्याण्ड’ सबैले बुझ्नै पर्छ भन्ने जरुरी छैन । देवकोटाको ‘मुनामदन’ गोठालादेखि भरियासम्म सबैले बुझे भन्दैमा मोहन कोइराला र ईश्वर वल्लभलाई पनि सबैले बुझ्नै पर्छ भन्ने छैन । प्रश्न अर्को कोणबाट पनि गर्न सकिन्छ , धेरैले बुझिने कवि भनेर चिनिएका भूपि शेरचनको ‘घुम्ने मेचमाथि अन्धो मान्छे’को सांकेतिकरण के तिनिहरुले बुझ्लान् , जसलाई घुम्ने मेच भनेको कस्तो हुन्छ भन्ने नै थाहा छैन !

हिजो जस्तै आज पजि असंख्य संख्यामा कविताहरु लेखिइरहेका छन् । तर , कविता सम्बन्धी संवाद र अन्र्तसंवादहरु अत्यन्त कम भइरहेका छन् । कविता आफैमा शल्यक्रिया हो , यसमा कुनै शंका छैन । तर, अब कविताको पनि शल्यक्रिया गर्नुपर्ने बेला आएको छ शायद । विगत छ दशकदेखि भौतिकशास्त्रीहरुले खोजी कार्य गरेर पदार्थको ‘हिग्स बोसोन’ पत्ता लगाए झै अब कवि , कविताप्रेमी र कवितापारखीहरुले पनि कविताको ‘हिग्स बोसोन’को खोजी गर्ने हो कि !

2 comments:

Chandra Gurung said...

सरस्वतीजी कवितामाथि महत्वपूर्ण लेख लेख्नु भएछ, बधाई तपाइँलाई ।

अचेल, असंख्य कविताहरू लेखिन्छन् तर भारवान कविता मात्रै बाँच्न सफल छन् युगौँ । भारहीन कविताको मृत्यु एक ठूलो सत्य हो । सारहीन मानवजीवनको कुनै औचित्य नभएझैँ नै भारहीन कविताको पनि कुनै जीवन र महत्व छैन ।

यस लेखले कविताको हिग्स बोसोन अर्थात् कविताको आत्मा, भार र महत्वबारे लेखेको छ । कुनै कविताको भार वा महत्वबारे यस लेखले राम्रो जानकारी दिएको छ । तर अर्को प्रश्न आउँछ कविताको भार वा महत्व केले निर्धारण गर्छ त ? के के हुन् त एक राम्रो कवितामा हुनै पर्ने गुणहरू ? यसबारे पाठक र कविका आफ्नै विचार छन् । भावनात्मक कवितामानिहित भाव वा विचारप्रधान किवतामा रहेका विचार नै कविताको हिग्स बोसोन हो त ? कि कवितामा आएका समयसापेक्षता, लेखन शैली, स्पर्शनीयता वा अन्य केहीले निर्धारण गर्छ कविताको हिग्स बोसोन ? यी सबको उपस्थितिमा कविताको रुप कस्तो हुनजान्छ ? पक्कै पनि कविताको संसारमा गहिरो विचरण गर्न थालेपछि यसको बोध सजिलै हुनजाला कवि र कविताप्रेमी पाठकलाई ।

पक्कै पनि प्रश्न आउँछ कविताको सौन्दर्य के हो ? र के ले कवितालाई पाठकमाझ प्रिय बनाउँछ वा के ले कवितालाई लामो आयु प्रदान गर्छ । त्यसकारण पनि, कविताको सौन्दर्य के हो बुझ्न जरुरी छ । शायद कविताको उपयोगिता वा प्रदान गर्ने संतुष्टी नै यसको सौन्दर्य हुनसक्छ । तेसो भए कवि वा पाठकप्रति कविताको उपयोगिता के होला ? पक्कै पनि कविताले कवि र पाठकलाई प्रदान गर्ने संतुष्टी नै यसको लक्ष्य हुनुपर्छ । जहाँसम्म यस लेखले भनेझैँ अबको कवितामा चाहिने प्रमुख तत्व भनेकै समसामयिकता र नवीनता पनि हुन् । अबका कविताले आफूलाई उहिलेका कविता भन्दा अलग र नवीन प्रस्तुत गर्न सक्नै पर्छ र आफ्नो समयलाई बलियो समात्न सक्नु पर्छ ।

कवितासित जोडिएको अर्को प्रमुख विषय हो सरल वा जटिल कविता । सरलताको नाममा कविताले पानी पानी भन्दै मर्नु नपरोस, र जटिलताको निहुँमा कविताले तेसैमा जेल्लिएर समाप्त हुन पनि नपरोस । सरलता र जटिलताको युद्धमोर्चाबाट निस्केर कविताले आफ्नो उपयोगिता प्रमाणित गर्न सक्नु प¥र्यो, र त्यही नै कविताको सौन्दर्य, अमरत्व र आयु मापनको मापदण्ड हुने छ । सरल वा जटिल होस, तर कवितामा कला र विचार आउनै पर्छ, कविताले केही उपयोगिता वा सौन्दर्य बोकोको हुनै पर्छ र पाठकलाई आफूतिर आकर्षित गर्न सक्नु पर्छ । सारमा कविताको मुख्य उपलब्धी भनेकै कवि र पाठकले यसबाट प्राप्त गर्ने संतुष्टी नै हुनुपर्छ । तर सबै प्रकारका पाठकले एकै खालके कविताबाट बराबर मात्रामा संतुष्टी लिने सम्भावना पनि कमै छ ।


र, अहिलेको समयमा कविता सम्बन्धित आवश्यकता भनेकै कविताबारे संवाद र अन्तरसंवादको थालनी गर्नु हो । धेरैलाई के भ्रम छ भने कवितालाई माया गर्नु भनेको कविता लेख्नु हो । वास्तवमा कविता लेख्नु र नयाँ विरुवा रोप्ने काम एकै हो । विरुवा रोपेपछि यदि तेस विरुवाको राम्रो देखरेख हुन्न वा गर्न सकिन्न भने त्यो विरुवाको मृत्यु निश्चित नै छ । यसरी नै कविताको पनि उचित स्याहारसंभारको अभावमा पतनको सम्भावना प्रबल छ । कविताकर्ममा लागिपरेका कविले बुझ्न जरुरी छ कि मात्रै कविताको उत्पादनले कविताक्षेत्र समृद्ध बन्ने होईन । अर्थात् कविता लेखनमा नयाँ आयाम थप्ने, कविता क्षेत्रको विकासमा मलजल निरन्तररुपमा भइरहनु पर्छ । कविताको सुन्दर बोटमा लागेको रोगको निदानबारे छलफल, वा कवितालेखनमा नयाँ शैलीबारे बेलामौकामा विचारविमर्श अत्यावश्क बनेको छ वर्तमान समयमा । यसरी मात्रै नेपाली कविता लेखनलाई नयाँ उँचाईमा लान सकिन्छ । कविताबारे कार्यशाला र कार्यक्रमहरूको आयोजनाले मात्रै नेपाली कविता आकाशलाई अझ फराकिलो पार्न सकिन्छ । र यो काम तपाइँ हामीजस्ता कविताप्रेमीबाटै शुरुवात हुन जरुरी पनि छ ।

होस त सरस्वतीजी बाँकी फेरि ।

ramabikas said...

one day I will read it out in my radio programme.
Thanks Chandra sir for storing it here.

About Me

My photo
Manbu-6,Gorkha, Kathmandu, Nepal
Most people ignore most poetry because most poetry ignores most people. - Adrian Mitchell