प्रोफेसर शर्माप्रति
– प्रोफेसर शर्माको चस्माको सिसा चर्केको द्ध
– प्रोफेसर शर्माको चप्पलभित्रको खुट्टा छिप्पेको इस्कुसजस्तो छ
– प्रोफेसर शर्माको कमिजबाट टाँकहरू प्रायः खसिसकेका छन्
– ब्ल्याकबोर्डमा
प्रोफेसर शर्माको हात थरथर काँप्छ
– प्रोफेसर शर्मालाई दमको रोग छ ।
सर !
यसरी गफिन्थ्यौँ हामी–
क्यान्टिनमा
चउरमा
रेस्टुराँमा
वा कुनै अल्छीलाग्दो सभा–समारोहका पछिल्ला लहरहरूमा ।
सहरका राता–पहेँला अखबारहरू
निरीह ज्यापूको आलुको भाउमाथि घुरिरहेका छन्
पजेरो, आचारसंहिता र निर्वाचन आयोगप्रति चुइँकिरहेका छन्
पानी, बिजुली, खसीको मासु र ग्याँसको मूल्यादिमा
स्वयं सत्ताभोगीहरूझैँ गिड्गिडाइरहेका छन्÷हिनहिनाइरहेका छन्
अपसोस–
कहीँ छैन– प्रोफेसर शर्माको असामयिक मृत्युको खबर !
कसलाई थाहा छ–
प्रोफेसर शर्मालाई मिसेज शर्माले छोड्नुका कारणहरू ?
डेरा सर्दा–
प्रोफेसर शर्माले एक ट्रक पुस्तक किन बेच्नुभयो ?
हिँड्ने बेलामा–
खुद्रा पसलेलाई किन पटकपटक नमस्कार गर्नुभो ?
प्रोफेसर शर्मा–
(जसले मलाई एक असल कवि बनाउनुभयो कवि)
अद्यापि,–
म सम्झिरहेको छु
एकनास सम्झिरहेको छु–
कमरेड...को भूमिगत ताजा प्रणय–प्रीतिभोज
र
प्रोफेसर शर्माको दमको दीर्घरोग !
००
माझीगाउँको हल्ला
नदीमा
ताराहरू डुबेका छन् भन्ने
गाउँभरि हल्ला चलेपछि
ऊ सबेरै
बल्छी बोकेर हिँड्यो ।
उसलाई सबभन्दा
धु्रव ताराप्रति अगाध मोह थियो
कारण
उसको जस्केलीबाट चिहाएर
धु्रव तारा
उसको ओछ्यानभरि पोखिन्थ्यो
भोकै सुतेको रात होस्
या रक्सी घोकेर सुतेको रात होस्
धु्रव तारा
उसको निधारमा टप्लक्क बस्थ्यो
र ऊ धपक्कै बल्दथ्यो ।
ऊ
नदीको छातीमा एकाग्र
बल्छी थापिरहेको थियो
परबाट
एक हुल नानीहरू रमाउँदै आए–
‘माझी दाइ...माझी दाइ
हामीले ताराको गुहु भेट्यौँ ।’
पालै–पालो सुम्सुम्याएपछि
निष्कर्षमा
सबैले एकै स्वरले भने–
‘ताराको गुहु ढुङ्गाजस्तै हुँदो रहेछ ।’
बल्छी थापिरह्यो
तर कहिल्यै
तारा अल्झिन आएन
बरु, धेरै माछाहरू अल्झिए
र गाउँ भरिकालाई सितन भयो ।
अब त ऊ
धु्रव तारा झिकीछोड्ने अठोट लिएर
वार पार गर्नेहरूलाई डुङ्गाबाट तार्दा पनि
बल्छी खेल्न छोडेन
नानीहरू किनार उचाल्दै कराउन थाले–
‘माझी दाइ...माझी दाइ
हामीलाई तारा छिटो झिकिदिनुहोस् न ।’
वर्षाको याम न थियो
एक रात
ठूलो बाढी आयो
र निष्ठुरी बाढीले
धु्रव तारा झिक्न अभ्यस्त उसलाई
बगाएर कहाँ...कहाँ पु¥यायो
भोलिपल्ट बिहान
सबेरै
गाउँमा अर्को हल्ला चल्यो–
‘नदीमा
रहरलाग्दो जून पनि डुबेको छ ।’
००
देश खोज्दै जाँदा
घाँसको भारी उचाल्न नसकेर
असिन–पसिन भएकी थिइन्– दिदी
मैले सघाएँ,
उनले भनिन्–
‘भाइ, देश ज्यादै गह्रँै छ ।’
ढाकरको पिँधमा टेकुवा अडाउन नसकेर
भिरालो बाटोमा लर्खराउँदै थिए– दाइ
मैले सघाएँ,
उनले भने–
‘भाइ, देश ज्यादै अप्ठ्यारो छ ।’
एक बथान बस्तुहरूलाई गोठमा हुल्न नसकेर
चिच्याई–चिच्याई रुदी थिइन्–बहिनी
मैले मद्दत गरेँ,
उनले भनिन्–
‘दाइ, देश नसक्नुको छाडा छ ।’
कापी–कलम राखेको झोला हराएर उदास–उदास
घर फर्किरहेका थिए–भाइ
मैले सान्त्वना दिएँ,
उनले भने–
‘दाइ, देश साह्रै बदमास छ ।’
मैले जे जति गरेँ
त्यो
म आमा बालाई सुनाउन चाहन्थेँ
तर म के
घरभित्र पसेको मात्रै थिएँ
आमा बाका संयुक्त स्वरहरू उर्लिए–
बद्मास !
छाडा !
माटोलाई भार !
म देश खोजिरहेको थिएँ ।
००
पुरानो मानिस
यस धर्तीको सबभन्दा पुरानो मानिसलाई मार्न
सबभन्दा नयाँ कुरा चाहिन्छ
तिमीसित अब
के छ त्यस्तो कुरा...?
सुधारिएको प्रजातन्त्र ?
गणतन्त्र ?
अत्याधुनिक बन्दुक
ट्याङ्क, मिसाइल, रकेटलन्चर
वा–
जैविक हतियार
अथवा–
अन्तर्राष्ट्रिय गीत...?
घर जलाइदियौ
घरसँगै–
उसका बालबच्चाहरू जले
श्रीमती, दाजुभाइ र इष्टमित्रहरू जले
उसले लगाएको भाङ्ग्रा, भोटो र गादो जल्यो
बक्खु, धोती र हाकुपटासी जल्यो
थाहा छ
ऊ किन जलेन ?
उसलाई आतङ्कारी भन्यौ
सरकारी गुप्तचर भन्यौ
तिम्रो चरम यातनाले
उसका विनयी हातहरू छिनालिए
निर्दोष आँखा र जिब्रो थुतिए
घाँटी र खुट्टाहरू गिँडिए
उसको पृथिवीजस्तो मुटुलाई
सङ्लिनले उनेर
विजयको हुङ्कार ग¥यौ
तर थाहा छ
ऊ किन मरेन ?
यस धर्तीको सबभन्दा पुरानो मानिसलाई मार्न
सबभन्दा नयाँ कुरा चाहिन्छ
तिमीसित अब
के छ त्यस्तो कुरा...?
भाषा ?
धर्म ?
जाति
संस्कृति, सम्प्रदाय, राष्ट्रियता
वा–
मानवअधिकार
अथवा–
सुप्रिम अमेरिका ?
तिमीसित अब
के छ बाँकी त्यस्तो कुरा...? जसले–
यस धर्तीको सबभन्दा पुरानो मानिसलाई मार्न सक्छ
के तिमी–
खेतमा धानको गन्धलाई मार्न सक्छौ ?
के तिमी–
पहाडमा बतासको गन्धलाई मार्न सक्छौ ?
के तिमी–
समुद्रमा पानीको गन्धलाई मार्न सक्छौ ?
तिमीसित अब
के कछ त्यस्तो कुरा...
भन ! के छ ?
जसले–
यस धर्तीको पसिनाको गहुँगोरो गन्धलाई मार्न सक्छ ।
००
अनाम युद्ध
मान्छेसित रिसाएका चराहरू
क्रुद्ध सैनिकझैँ
गीतको बन्दुक बोकेर हिँडे– चितुवाजस्तो पहाड खोज्दै ।
आकाशभरि हाहाकार...
ताराहरूको भागाभाग...
बतासको बिचल्ली...
लुगलुग काँप्दै शीतको झ्याल आधा खोलेर
कुहिरोको झुप्रोबाट फूलहरूले चियाए
चराहरू मनपरी बन्दुक चलाइरहेका थिए–
सा रे ग म प ध नि सा
सा नि ध प म ग रे सा
देवता बन्ने सपना देखिरहेको युवक ढुङ्गाको छातीमा गोली लाग्यो
भाङ्ग्राको टोपीमा यौवन बुनिरहेकी युवती खोलाको हातै भाँचियो
तपस्यामा लीन आर्य रुखको आँखा फुट्यो
क्रीडामग्न मङ्गोल दहको कोखाबाट काँचो रगत भलभलियो
पहाडलाई केही थाहा भएन
चराहरू झनै आक्रोशिए–
सा ग प नि रे म ध सा
सा ध म रे नि प ग सा
गोलीले– अथाह भविष्य बोकेको बालक आगोमाथि बूढो पानी खस्यो
गोलीले– अनन्त रहर साँचेकी बालिका पातमाथि बूढी पात खसी
फेरि पनि पहाडलाई केही भएन
सैनिक चराहरू थाके !
चितुवाजस्तो पहाड उठ्यो र मुस्कुरायो–
ओम मणि पद्मे हुं !
००
जीवनको लय
एक–दुई–तीन
एक–दुई–तीन
तपाईं
वाल्जमा बाँधिनुभयो ।
जीवनको नग्नता हो विचार
तर आशा, निराशा, उत्तेजना
एक रिदमिक तीव्रता
जस्तो–
लहर नदीको तीव्रता हो
बतास टाकुराको
एकान्त आलापको ।
निरन्तर हिउँ खसिरहनु
या, पग्लिरहनु
तीव्रता हो– हिमालयको
एक–दुई–तीन
एक–दुई–तीन
प्रत्येक बोध, विश्राम वा खाली
शून्य वा मृत्यु
योजक हो– जीवनको ।
जस्तो–
बुद्ध र यशोधरा
ब्लुज र नीलो
माक्र्स र स्वप्न
महावीर र यातना
झलकमान र सारङ्गी
मानिस आफैँमा के हो...?
के हो मानिस...?
तर,
जीवन चलिरहन्छ– यत्नहरूको नजिक–नजिक
एक–दुई–तीन
एक–दुई–तीन
गइसकेपछि फर्किन सकिन्छ...?
भइसकेपछि नहुन सकिन्छ....?
जीवन एक लय हो–असङ्ख्य टुक्राहरूको
जो क्षणको खस्रो जराबाट
उभिन्छ तरलताको भीमकाय रुख
एक–दुई–तीन
एक–दुई–तीन ।
००
फूलको कथा
उहिल्यै–उहिल्यै...
फूलहरू कविता लेख्थे ।
फूलहरू–
आदिकवि थिए
महाकवि थिए
युगकवि थिए
जनकवि थिए
उहिल्यै–उहिल्यै...
एकदिन–
अनायास यौटा फूल हरायो
सारा फूलहरू रोए
असङ्ख्य भावुक फूलहरूको जीवन दुःखमा डुब्यो ।
अर्को दिन
अर्को फूल हरायो–
फूलको संसारभरि हाहाकार मच्चियो
सारा फूलहरू आगो भए
धर्तीको सौन्दर्य धुवाँ भएर अक्कासियो
फूलहरू–
राजा भए
नेता भए
किसान भए
मजदुर भए
अफसोच ! फूलले फूललाई नै शोषण गर्न सुरु ग¥यो !
कवि फूलहरूले विद्रोह गरे
न्याय र समानताको कविता लेखे
मुक्ति र स्वतन्त्रताको कविता लेखे
शोषित फूलहरू जुरमुराए
उठाए हतियार र भिरे आआफ्ना कम्मरमा
असङ्ख्य फूलहरू फूलहरूबाटै शहीद भए
सारा फूलबारी रङ्गियो प्रभाती किरणले ।
धेरै पछि–
मान्छे फेरि त्यहाँ पुग्यो
फूलहरू–
आफ्नै हृदयको रगतले पोतिएको झन्डा फरफराइरहेका थिए–
भीर
पहरा
गमला र आँगनवरिपरि...
मान्छे चुपचाप फर्कियो र भन्यो
हे ईश्वर ! सबै फूलहरू मान्छे भइसकेछन्
मैले तपाईंलाई फूल चढाउन सकिनँ !
उहिल्यै–उहिल्यै...।
००
दिदी ! किन त्यो चन्द्रमा...?
दिदी !
सधैँ त्यो भञ्ज्याङसम्म चन्द्रमा बोकेर आउँछन् भरियाहरू
र त्यो चन्द्रमा त्यहीँबाट आकाशतिर लाग्छ
भरियाहरू यहाँ आइपुग्दा–
भारीमा नुनतेल, एक–एक अँगालो सुकेका दाउरा
हारेजस्तो आँखा र उदास–उदास अनुहार !
दिदी !
त्यो चन्द्रमा त्यहीँबाट किन आकाशतिर लागेको होला ?
किन त्यसरी त्यल्ले भरियाहरूलाई छक्क्याएको होला ?
भारीमाथि भारी बनेर किन सताएको होला त्यो चन्द्रमाले ?
कि भरियाहरूलाई गरिब भनेर हेपेको ?
कि भरियाहरूले जबरजस्ती ल्याएका हुन् र भागेको ?
दिदी !
सधैँ त्यो भञ्ज्याङसम्म चन्द्रमा बोकेर आउँछन् भरियाहरू !
भरियाहरू हामीजस्तै सबै कुरा बुझ्दैनन् र असत्य बोल्दैनन्
–होइन दिदी ?
भरियाहरू हामीजस्तै राम्ररी लाउन, खान जान्दैनन्
–होइन दिदी ?
पक्कै यिनीहरू हामीले जस्तै चन्द्रमालाई खूबै माया गर्छन् क्यारे ?
र त बोकेर ल्याए नत्र घिस्याउँदै ल्याउँथे, बरु ल्याउँदैनथे
नत्र भारीमै खाँदेर ल्याउँथे, मायाले शिरमै राखेर ल्याए
तर दिदी !
किन सत्यले मान्छेलाई सधैँ लखेटिरहन्छ ?
भरियाहरू आफू लुटिएझैँ
त्यो चप्लेटीबाट आकाश हेरिरहेछन् !
हैन दिदी !
किन त्यो चन्द्रमा त्यहीँबाट आकाशतिर लागेको होला ?
यदि म त्यो चन्द्रमा भएको भए भरियाहरूसँगै गाउँ जान्थे
यदि म त्यो चन्द्रमा भएको भए त्यसरी आकाशतिर भाग्दिनथेँ
कति निष्ठुर हगि त्यो चन्द्रमा...?
दिदी !
के संसारका सारा राम्रा कुराहरू निष्ठुर हुन्छन्– गरिबका लागि ?
हजुरलाई थाहै हुँदैन चन्द्रमा भागेको !
त्यति बेलै हजुर तल खोलामा पानी लिन जानुभएको हुन्छ
तपाईं नफर्किदै–
चन्द्रमा बोकेर थाकेका भरियाहरू
हामीकहाँ एक रातलाई बास माग्छन्÷ एक छाकलाई पानी माग्छन्
र आगो जोर्छन्
मायाले होला– म त सोध्नै सक्दिनँ–
‘चन्द्रमा कति गह्रौं थियो...?!’
दिदी !
सधैँ त्यो भन्ज्याङसम्म चन्द्रमा बोकेर आउँछन् भरियाहरू
र त्यो चन्द्रमा त्यहीँबाट आकाशतिर लाग्छ
अनि दिदी !
हामी दुवैलाई सधैँ यही भन्ज्याङमा छोडिराखेर
सबेरै बाटो लाग्छन्– चन्द्रमाजस्तै भरियाहरू !
००
कफीसपमा
हिउँदको चिसो
या यस्तै केही...
छल्नु छ
धिरज राई, नवीन भट्टराई, विधान श्रेष्ठ
या बबीन प्रधानका थोत्रिँदै गएका
पपगीतहरूका कुरा
कृष्णभूषण बल, शैलेन्द्र साकार, विष्णुविभु
या विमल निभाका फाट्टफुट्ट आउने
टुक्राटाक्री कविताहरूका कुरा
सौरभ, नवीन सुब्बा, प्रकाश सायमी
या नारायण वाग्लेका आक्कलझुक्कल देखिने
देखिने लघु लेखहरूका कुरा
यस्तै केही...
अल्छीलाग्दो घाम
थानकोटवरपरका घुर्मैला पहाडहरू भएर नझरुन्जेल
या सल्किरहेको चुरोट आफैँ एस्ट्रेछेउछाउ कतै नखसुन्जेल
छेवैका गमलाका नाङ्गा फूलहरूमा
एक सौ बीस वाटका बिजुलीका तीखा र कामुक प्रकाशपुञ्जहरू नपरुन्जेल
त्यत्तिकै...
अलमिलनु छ÷गुथ्मुथिनु छ÷धुम्धुमिनु छ
आजका अखबारहरूमा कुनै उत्तेजना छैन
बिल क्लिन्टनको मुख–मैथुन
वामदेव गौतमको सरकार छोड्ने
बाबुराम भट्टराईको सङ्घर्षको अर्को चरण
सब, सामान्य कुरा
नजिकैको शमीको रुखमा
एक बथान कागहरूबीच
भरे बासका लागि झगडा भइरहेको छ
अफिस छुटेको समय
ट्रााफिक आफैँले ट्राफिक जाम गरिरहेको छ
सब, सामान्य कुरा
हिउँदको चिसो
या यस्तै केही...
छल्नु छ
यस्तै–यस्तै
केही छल्न
केही यथानामहरू छन् सहरमा–
देश÷राजा÷जनता÷प्रजातन्त्र÷गणतन्त्र
कला÷साहित्य÷संस्कृति÷सगरमाथा
सब, सामान्य कुरा
बतास
हिजोको भन्दा निक्कै चल्ने छ
ज्याकेटको चेन माथिसम्मै तानौँ !
पहेँलो घाम छोप्न–
स्वयम्भूमाथि बादलका उही झुप्पाहरू भेलिँदै छन्
मौसम बदलिन्छ कि जस्तो छ
विप्लवजी ! पकेटको अवस्था कस्तो छ ?
हिउँदको चिसो
या यस्तै केही...
छल्नु छ ।
००
बिसे नगर्चीको बयान
मालिक !
म यो गोरखा राज्यमा
अढाई सय वर्षपछि बौलाएँ ।
मेरो टाउको फनफनी घुमिरहेछ
जमिन आकाशतिर
आकाश जमिनतिर भइरहेछ
आँखा तिर्मिरतिर्मिर भएर
हजुरको शिर दसवटा देखिरहेछु
खोइ मेरो पैताला कहाँनिर छ ?
कहाँनिर छ बिसे नगर्ची ?
मालिक !
म बौलाएँ ।
मै त महाराजको सेवा गर्नुपर्ने
इतिहासको रक्षा गर्न
यो गोरखकालीको पाउ छोएर
नुनको सोझो हुनुपर्ने
अढाई सय वर्षपछि आज के भयो मलाई ?
यो बिसेलाई दिशा लाग्यो मालिक !
म बौलाएँ ।
नाथे मेरी स्वास्नी न हो मारिएकी
नाथे मेरी छोरी न हो बलात्कृत भएकी
नाथे यो बिसेको झुप्रो न हो जलाइएको
यतिमै म बिसे उफ्रनुपर्ने ? थुइक्क बिसे... ।
म बौलाएँ मालिक !
म बौलाएँ ।
मेरो हात भाँचियो
अब म हजुरका भारदारहरूलाई लवेदा सिउन सक्दिनँ
नर्सिङ्गा फुक्न÷सनाई बजाउन
अथवा कुनै मङ्गलगान वा मृत्युगीत गाउन सक्दिनँ
मेरो खुट्टा भाँचियो
अब म हजुरको राज्यको पहरा गर्न सक्दिनँ
मेरो दिमागै ठीकमा छैन
अब म ठिक्कले बोल्न सक्दिनँ
मालिक ! म बौलाएँ ।
मालिक !
यो गोरखा राज्यअघि उभिएका
हिजोका ती अग्ला अग्ला पहाडहरू
आज कसरी यस्तरी होचाहोचा भए ?
हिजोका ती सग्ला र कल्कलाउँदा यहाँका मानिसहरू
आज कसरी यस्तरी खुनी र कुरूप भए ?
यो दरौँदी किन उल्टो बगेको देख्छु ?
यो दरबारै किन खण्डहरजस्तो देख्छु ?
म बौलाएँ मालिक ! म बौलाएँ !
मालिक !
हजुरको तरबारले टाउको काट्छ कि पूmल
भ्रममा परेँ म
हजुरको बन्दुकले विचार ढाल्छ कि मान्छे ?
भ्रममा परेँ म
यस राज्यलाई प्रजाले बनायो कि राजाले ?
भ्रममा परेँ म
अढाई सय वर्षदेखि म तपाईंसमक्ष छु मालिक !
म कसरी आतङ्ककारी हुनसक्छु ?
म केवल बौलाएँ मालिक !
बौलाएँ ।
हो, मैले मालिकको दिव्योपदेश पालन गरिनँ हुँला
रक्सी खाएर
यो देश मैले पनि आर्जेको हुँ भनेँ हुँला
भानुभक्त बाजेको गीत र मेरो सियो बराबर हो भनेँ हुँला
मैले सिएका सुकिला लुगा ओढेकाहरूलाई
मेरो नाङ्गो आङ देखाएँ हुँला
बौलाएपछि मैले मेरै भगवान्लाई पनि गाली गरेँ हुला
मालिक !
मान्छे बोलाएपछि आपैmँँसित पनि निहु खोज्दोरहेछ
अढाई सय वर्षदेखि मैले तुनेका थाङ्नामा हुर्केका
मेरा दरसन्तानहरू कहाँकहाँ पुगे ?
मैले खोज्न चाहेँ हुँला
मेरा औँलामा खोपिएका छ्यान्द्रा र बगेका
रगतहरूले मलाई उक्सायो
तरबारले आर्जेको मुलुकभन्दा
मैले धागोले उनको मुलुक विशाल ठानेँ हुँला
मालिक !
यस माटोको इतिहाससँगै म हजुरको राष्ट्रमा छु
म कसरी अराष्ट्रिय हुन सक्छु ?
म साँच्चै बौलाएँ मालिक !
साँच्चै बौलाएँ ।
मेरो टाउको फनफनी घुमिरहेछ
जमिन आकाशतिर
आकाश जमिनतिर भइरहेछ
आँखा तिर्मिरतिर्मिर भएर
हजुरको शिर दसवटा देखिरहेछु
खोइ मेरो पैताला कहाँनिर छ ?
कहाँनिर छ बिसे नगर्ची ?
मालिक ! म बौलाएँ ।
No comments:
Post a Comment