साँघुरो कोठाभित्र बसेर
म केवल गीत रच्न मात्र सक्छु
गीत हुन सक्दिनँ ।
गीत हुनलाई मभित्र के छ ?
फूलजस्तो कोमलता ?
वतासजस्तो तन्मयता ?
नदीजस्तो वेग ?
अथवा
सुन्दर मानिस ?
अहँ ! केही पनि छैन मभित्र ।
छ त -
धेरै कुण्ठा
धेरै अहम
धेरै महत्वाकाँछा
धेरै शङ्का
अथवा
जर्जर भइसकेको हृदय
धुकधुकीबिहीन मुटु
संस्कृतिबिनाको जीवन
म कसरी गीत हुन सक्छु ?
मसँग-
उभिनको लागि पुर्खाले फाँडेको खोरिया छैन
ओतिनको लागि पुर्खाले छाएको छानो छैन
छ भने केवल
दम्भले मात्रै जितेको तोरीबारी छ
शासनले मात्रै कज्याएको राज्य छ
अथवा
कुनै आदिवासी-आँगनमा जबरजस्त गाडेको
पुरानू झण्डा मात्रै छ
म कसरी गीत हुन सक्छु ?
म केवल डाह मात्र गर्न सक्छु
कि-
ती नानीहरूले ध्यानपूर्वक हेरिरहेको चित्र
जहाँ उनीहरूले खोजिरहेका छन्
आफ्ना बाबाहरूको लाश !
साँघुरो कोठाभित्र बसेर
म केवल गीत रच्न मात्र सक्छु
गीत हुन सक्दिनँ ।
1 comment:
तपाईंको लेखन शैली निकै राम्रो लाग्यो | यो कविता पनि असाध्यै मीठो लाग्यो | म पनि कविता पढ्न रुचाउने र कहिलेकाहीं लेख्न खोज्ने मान्छे हुँ, भनुँ राम्रो लेख्न रहर गर्ने मान्छे | तपाईंको ब्लगमा आज मात्र पसेको हुँ र सबै पढेको पनि छैन | समय अनुकुल पढ्ने छु |
मलाई लागेको कुरा के हो भने तपाईंको यो ब्लगको नाम भएन | ठेगाना यो भए पनि ब्लगलाई बोलाउन मिल्ने चुस्त स्फुर्त नाम कुनै राख्नु भए राम्रो हुन्थ्यो | आफ्नै नामबाट राखे पनि हुन्छ जस्तै कि चन्द्र-लहर, चन्द्रमयी आकाश, चन्द्र आवाज.... | नाम मैले सिकाउनु त जरुरी छैन | तैपनि तपाइंले नेपालीमा लेख्नुहुन्छ, तपाईंको ब्लगको नामबाट त्यो प्रष्ट नभएको हो कि ?
Post a Comment