
विमल निभा
लामादाइ
तपाईंको हाँसो निकै स्वच्छ छ
तर कृपया त्यसमा सुनको दाँत
सामेल नगर्नोस्
तपाईं जब उन्मुक्त भएर हाँस्नुहुन्छ
श्रमको हाँसो हाँस्नुहुन्छ
तपाईंको ठेला परेको हात
यसको साक्षी छ
तपाईं जब अडि-अडीकन हाँस्नुहुन्छ
आशाको हाँसो हाँस्नुहुन्छ
तपाईंको व्यस्त लगन
यसको साक्षी छ
तपाईं जब प्रफुल्ल भएर हाँस्नुहुन्छ
विश्वासको हाँसो हाँस्नुहुन्छ
तपाईंको असल चरित्र
यसको साक्षी छ
तपाईं जब अावेशमा हाँस्नुहुन्छ
जोशको हाँसो हाँस्नुहुन्छ
तपाईंको अनवरत उत्साह
यसको साक्षी छ
तपाईं जब जोड-जोडले हाँस्नुहुन्छ
दृढताको हाँसो हाँस्नुहुन्छ
तपाईंको कस्सिएको मुठ्ठी
यसको साक्षी छ
लामादाइ
तपाईंको हाँसो स्वच्छ छ, उन्मुक्त छ
प्रफुल्ल छ, सफा छ, निर्मल छ
एकदम मजाको छ
तर कृपया त्यसमा सुनको दाँत
सामेल नगर्नोस्
1 comment:
बिमल निभा ले हरेक शनिबार कान्तिपुर को किनारा (मार्गिन) मा लेख्ने गरेको लेख पढदा पढदै एकदिन मेरो दिमाग मा आयो बिमल निभा पनि एक सिमान्तिक्रित् लेखक हून तर कृपया मेरो यो भनाइ लाई जातिय अर्थ मा नबुझम होला..केही बर्ष अघी पत्रीका मै पढेको निभाको "कमरेड बाबुराम के म जनयुद्ध मा सामेल छैन ?" भन्ने पन्क्ती अझै सम्झिरहन्छु
शेर्पाहरु मा सुन्दरता र सम्पन्नता को प्रतिक मानिने सुनको दात राख्ने चलन को बारेमा म टिप्पणी त नगरम होला शेर्पा का चेतनशिल बर्गले नै सोच्नुहोला तर कवि को नैसर्गीक र प्राकितिक अवस्था आँफैमा सबै भन्दा सुन्दर हुने भएको ले थप् आडम्बर गरिरहन नपर्ने आसय राम्रो लाग्यो
Post a Comment