मेरो देशको पुस्तक


वाशु शशी

मेरो देशको पुस्तकका पृष्ठहरु
ठाउँ-ठाउँमा च्यातिएका छन्।
यसलाई पढ्ने मेरो बालकहरुले
अवश्य 'यो त भएन बा!' भन्नेछन्।
यसका पन्नाहरुको अक्षर नै मेटिने गरी
ठाउँ-ठाउँमा कालो मसी पोखिएको छ!
यसलाई पढ्ने मेरो बालकहरुले
अवश्य 'यो त नराम्रो भो बा!' भन्ने छन्!
अनि म बाझोँले बादललाई झैँ हेरिरहुँला
-तिनीहरुले ती चौटाहरु ल्याएर जोडेको!
दागहरु माझेर पुस्तक सफा पारेको!

हो, मेरो देशको पुस्तकका पृष्ठहरु
ठाउँ-ठाउँमा च्यातिएका छन्।

तेञ्जिङ छिरीङ लामालाई


विमल निभा


लामादाइ
तपाईंको हाँसो निकै स्वच्छ छ
तर कृपया त्यसमा सुनको दाँत
सामेल नगर्नोस्

तपाईं जब उन्मुक्त भएर हाँस्नुहुन्छ
श्रमको हाँसो हाँस्नुहुन्छ
तपाईंको ठेला परेको हात
यसको साक्षी छ

तपाईं जब अडि-अडीकन हाँस्नुहुन्छ
आशाको हाँसो हाँस्नुहुन्छ
तपाईंको व्यस्त लगन
यसको साक्षी छ

तपाईं जब प्रफुल्ल भएर हाँस्नुहुन्छ
विश्वासको हाँसो हाँस्नुहुन्छ
तपाईंको असल चरित्र
यसको साक्षी छ

तपाईं जब अावेशमा हाँस्नुहुन्छ
जोशको हाँसो हाँस्नुहुन्छ
तपाईंको अनवरत उत्साह
यसको साक्षी छ

तपाईं जब जोड-जोडले हाँस्नुहुन्छ
दृढताको हाँसो हाँस्नुहुन्छ
तपाईंको कस्सिएको मुठ्ठी
यसको साक्षी छ

लामादाइ
तपाईंको हाँसो स्वच्छ छ, उन्मुक्त छ
प्रफुल्ल छ, सफा छ, निर्मल छ
एकदम मजाको छ
तर कृपया त्यसमा सुनको दाँत
सामेल नगर्नोस्

हो, म बाहुन हुँ


KUSUM GYAWALI

हो
म एक्काइसौ सताद्वीको बाहुन हुँ
जनै फालेर बिष्णु अवतारका दोवाटे टपरीमा
च्यातेर बिभेदका कर्मकाण्डहरू
अस्वीकार गर्दै कसैको भजन किर्तनका नीत्यकर्म
म अश्रुग्यासले रोइरहेको सडकको वीचमा छु
अगालो मारेर मेरै बालीघरे कामीदाईसंग
म चुच्चो नाके अनुहारको मान्छे
जनजाती आन्दोलनमा नारा घन्काउने
नयाँ यूगको आवाज हूँ
हो म एक्काइसौ सताद्वीको बाहुन हुँ

कुनै महाराजको काट्टो खान अस्वीकार गर्ने
कपाल नखौरने कुनै तानाशाहको मृत्यूमा
पशुपतिको ब्रह्मनालमा पनि
धर्म निरपेक्षको मस्तुल उठाउने
आफ्नै लागि आफै पञ्चेबाजा बजाउने
युगनायकका मूर्ति बनाउने
नयाँ समयको कालीगड हूँ
इतिहासमा पहिरो जान पूर्व मोफसलका बस्तीमा
कमलपित्तका विरूद्ध हाकहाल्ने
झसमिसेको म कटवाल हुँ
सिलाएर रंगिचंगी हिऊँ र
धानमा बहेली खेल्ने बतासको
थाङ्राभोटा तुन्ने दमाइ हुँ म
हो म एक्काइसौ सताद्वीको बाहुन हुँ

नलगाए पनि जनै
रित्ता घाँटीमा झुण्डिए पछि बाहुनबाद
छुवाछुत गरे पछि आफ्नै दाजुभाइ सँग
ए नयाँ युगका कथित मान्छे
तिमी खाट्टी पुराना बाहुन हौ
पुराना युगका खण्डहर
तर म धेरै फरक छु तिमीभन्दा
हो म एक्काइसौ सताद्वीको बाहुन हुँ

कवितामा जीवन


- कुमारी लामा

चलायमान नदी र जडवत रूख, विपर्यासलाई एकै ठाउँमा आफ्ना भावना र विचारले बाँधी कवि भीष्म उप्रेतीले आफ्नो पछिल्लो कविता कृति 'तिनाउ नदी र बूढो रूख' पाठकमाझ पस्केका छन् । 'कवितामा पहाड', 'समुद्र र कविताहरू' जस्ता उनका अघिल्ला कवितासंग्रह निकालेका छन् । उमेर, अनुभव र भावनात्मक अभिव्यक्तिले खारिएको अनुभूति प्रदान गर्ने उनको यस संग्रहका कविताहरू जीवनका ज्यादै जटिल सत्य जीवन, मृत्यु, उत्सुकता, स्वतन्त्रता, खुसी आदिका विषयमा गरिएको गहन चिन्तनको सरल अभिव्यक्ति हो । उनी थोरै सरल शब्दहरू प्रयोग गरी ज्यादै जटिल चिन्तनशील विषयतर्फ आफ्ना पाठकहरूलाई डोर्या्उँछन् । यो सरलताभित्रको जटिलता नै उनको वास्तविक पहिचान हो ।

तिनाउ नदी आफ्नो बगिरहने धर्मलाई सहर्ष पालना गर्दै निरन्तर बगिरहेको छ । कहिले कञ्चन जल, कहिले फोहोर र कहिले त रगतलाई पनि आफूसँगै बगाइदिन्छ । तर नदी किनारको रूख कैयौं घामपानी सही त्यहीँ उभिइरहेछ निरन्तर भइरहने परिवर्तनलाई नियाल्दै जो उनको आफ्नो धर्म पनि हो । सरल सुनिए पनि तिनाउ नदीको चाल र त्यो रूखको स्थिरता हाम्रो जीवन र भोगाइकै एउटा अंश हो । वर्तमान नीरस र भयावह परिस्थितिबाट जो कोही मुक्त छैन । कविहृदय यो विकराल विसंगत समयबाट प्रताडित छ । एक प्रकारको भयले उनलाई गाँजेको छ । उनी यही डरलाग्दो समयलाई आफ्ना शब्दमार्फत यसरी बोल्छन्-

सपना बगेपछि
नदी आँसुले बन्दोरहेछ
हिजै मात्र
बलात्कारपछि हत्या भएको
नांगो शरीर भेटियो बगरमा
नदी रगतले पनि बन्दोरहेछ ।

About Me

My photo
Manbu-6,Gorkha, Kathmandu, Nepal
Most people ignore most poetry because most poetry ignores most people. - Adrian Mitchell