
सुमल कुमार गुरुङ
-यूकेबाट
आमा ! तिम्रो अँगालोभित्र,
एउटा आवेग चित्कार र आर्तनाद,
चुलिएर कुनाकन्दरा थर्काउदै
जब एउटा जीवन-दीप निभेको हुन्छ
त्यो आवेग चित्कारको आर्तनाद विवश नेपालीको हुन्छ ।
आमा ! पाशविक बरबरताको क्रुर पराकाष्ठ नाँघेर
निरीह र निर्दोष कहिलेसम्म शिकार हुन्छ ?
बलियोबाट कमजोरमाथि कहिलेसम्म अत्यचार हुन्छ ?
स्वार्थ र वैमनष्यताको फोहोरी राजनैतिक खेलबाट
आमा तिमी कहिले मुक्त हुने हौ ?
प्रत्येक दिन उदाउने घामले निम्त्याएको उमङ्ग
हरेक साँझ पछिको रातले तर्साएको हुन्छ ।
यी नरोकिने सिलसिला, अन्त हुने कहिले हो ?
न्याय निसाप कुन चराको नाम हो ?
यहाँ जसले जे गरे पनि हुन्छ,
लोभी र स्वार्थी जमातको नेतृत्वले
अब त आमा यहाँ जसलाई जे मन लाग्यो त्यही गर्दैछ,, त्यही हुँदैछ ।
प्रत्येक कालखण्डमा रगतले कोरेको इतिहास,
भन्छ्यौ नि आमा !, बुद्ध जन्मेको देश, शान्तिको देश नेपाल,
अनि भन्छ्यौ ….
बीर गोर्खालाई जन्माएँ मैले, भृकुटी र सीतालाई पनि जन्माएँ
शिरको गजुर सगरमाथा, पवित्र गंगाहरुको जननी,
पवित्र बसुन्धरा, सुन्दर, शान्त र विशाल ।
खोई, कहाँ छ आमा ! बुद्ध नेपालभित्र ?
खोई, कहाँ छन् आमा ! ती सपुतहरु ?
शान्तिको मृगतृष्णा बोकेर हिँड्दैछु आमा
धेरै टाढा…..टाढा……
मेरो मनभित्रको खाडलबाट भोको पेट, नाङ्गो शरीर भएका सन्तानहरु
फैलाउँदै हात अट्टहास गर्दै
भर्खरै आएको लोकतांन्त्रिक गणतंत्रको उपहास गर्दैछन्
अनि म विवश भएर प्रश्न गर्छु, आमा † यो के भयो ?
No comments:
Post a Comment