श्रृजना डट कम द्वारा आयोजित "श्रृजना कविता प्रतियोगिता २००८ को नतिजा घोषणा

श्रृजना डट कम द्वारा आयोजित "श्रृजना कविता प्रतियोगिता २००८ को नतिजा घोषणा तथा नेपाली साहित्यमा हङकङ: हिजो, आज र भोलि "विषयक अन्तरविमर्शको कार्यक्रम जोर्डन स्थित याक एण्ड यति रेष्टुरेन्टको सभा हलमा संपन्न भयो ।

Courtesy:http://www.shrijana.com/000/?page_id=2911

कुल १४ देशबाट सहभागी ७० प्रतिश्पर्धी कविताहरुमध्येबाट ३ सदस्यीय निर्णायक मण्डलद्वारा
१) वादी विज्ञप्ति - प्रगति राई, प्रथम , (नेपाल) (NRs. 10,000)
२) फूल र ढुंगा साम्राज्य - निराजन बतास, द्वितीय , (नेपाल) (NRs. 5,000)
३) आलंकारिक नागरिक - अशोक राई, तृतीय, (हङकङ) (NRs. 3,000)
तथा मेरी आमा - बाबु त्रिपाठी (नेपाल) (NRs. 1,000) र गाउँको संझना - टोप बहादुर राई(हङकङ) (NRs. 1,000) सान्त्वना घोषित भएका थिए ।
खुल्ला विषय र खुल्ला प्रतिश्पर्धा भएकोले निर्णय गर्न कठीन भएको बताउँदै निर्णायक श्री हाङयुग अज्ञातले आउने प्रतिश्पर्धात्मक कार्यक्रममा विषय वस्तु तोकिनु पर्ने सुझाव दिनु भयो ।
प्रतियोगितामा विजयी कविताहरुलाई निर्णायकहरुद्वारा वाचन गरेर सुनाइएको थियो । सान्त्वनाका दुई कवितालाई निर्णायक टंक साम्बहम्फे, द्वितीय कवितालाई निर्णायक हाङयुग अज्ञात तथा प्रथम कवितालाई निर्णायक तथा श्रृजना डट कम का संपादक किराँती भोगेन एक्लेले वाचन गर्नु भएको थियो । तृतीय स्थान प्राप्त कविता भने कवि अशोक राई स्वयंले वाचन गरिएको थियो ।
प्रतियोगितामा सहभागी प्रेम कोरङगी, हिमकला राई र पिताम्बर राई द्वारा पनि कविता सुनाइएको थियो । पिताम्बर राईद्वारा हास्यव्यंग्यात्मक कविता "भो म त गर्दिनँ बिहे" शीर्षकको कविता सुनाउँदा "तपाईंको बिहे त भै सकेको छ त!" भन्ने प्रतिक्रिया दर्शक दीर्घाबाट आउँदा "अर्को बिहे गर्दिनँ भनेको हो" भनेर हाँसोमय वातवरण भएको थियो ।
स्वागतको क्रममा संपादक भोगेन एक्लेले छोटो समयको श्रृजना डट कमको सफलता विशेष रहेको र श्रृजना डट कमको प्रथम कार्यक्रम भएको हुनाले केही प्राविधिक त्रुटिहरु सुधार गर्दै लगिने बताउनुभयो ।
दोस्रो चरणको कार्यक्रम अन्तरगत "नेपाली साहित्यमा हङकङ: हिंजो आज र भोलि" अन्तर्विमर्श कार्यक्रममा हङकङ नेपाली साहित्य प्रतिष्ठानका अध्यक्ष टंक साम्बहम्फेले, ह ने सा प्र पहिलो साहित्यिक संस्था भएको र यसको योगदानहरुको चर्चा गर्नु भयो ।
जनजाति गीतकार समाज, हङकङका अध्यक्ष प्रदिप कन्दङवाले भने सृजनशील साहित्य समाज बाहेक अन्य साहित्य संस्थाले निरन्तरता गुमाएको र वर्ष गाँठ मनाउने कार्यक्रममा मात्रै सीमित भएको बताउनु भयो ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, हङकङ च्याप्टरका उपाध्यक्ष कमल पौडेलले हिंजोको अवस्थामा हङकङको नेपाली साहित्यको चर्चा गर्दै प्रविधिकको अभावमा टेलफोन बाट समाचार, साहित्य र मनोरञ्जनका कार्यक्रम चलाइएका दिनको स्मरण गर्नु भयो ।
सृजनशील साहित्य समाजका सचिव नरेश सुनुवारले हङकङमा नेपाली साहित्यको विगतदेखि आगत सम्मको चर्चा गर्दै नेपाली साहित्य उर्वर रहेका मुलुकमा नेपाल, भारत पछि तेस्रो स्थानमा हङकङ रहेको र विगत अर्ध दशक हङकङको नेपाली साहित्यको लागि अत्यन्तै उपलब्धिमूलक रहेको बताउनु भयो ।
जनजाति साहित्य समूह का अध्यक्ष भुपेन्द्र चेम्जोङले जनजाति साहित्य हिजो, आज र भोलिको विषयमा चर्चा गर्दै जनजाति साहित्यलाई वर्गीकरण र अनुसन्धान गर्दै रहेको बताउनु भयो ।
एकात्मक राज्य प्रणालीको प्रभावमा जनजाति साहित्य दमित भएको भन्ने वहाँको धारणा थियो । भयवादी साहित्यकार देश सुब्बाले आफ्नो भयवादको सिध्दान्तमाथि चर्चा गर्दै भयको समाप्ति सृजनाको समाप्ति हो, भयको ग्रन्थी मस्तिष्कबाट झिकिदिए संसार र जीवन निरस हुने भन्दै भयको सुन्दर पाटो चर्चा गर्दै भयवाद माथि अवधारणा पत्र पेश गर्नु भएको थियो ।
कार्यक्मको अध्यक्षता गरिरहनुभएका कार्यक्रम संयोजक मेख गुरुङले उपस्थित सबैमा धन्यवाद तथा सबै प्रायोजक, प्रतियोगी र प्रतियोगितालाई सफल बनाउन सह्योगी वेब साइटहरुप्रति आभार ब्यक्त गर्नाका साथैआगामी कार्यक्रम श्रृजना कथा प्रतियोगिता हुने जानकारी गराउनु भयो ।
संपूर्ण कार्यक्रमको प्रत्यक्ष प्रसारण मूल बाटो डट कमले गरेको थियो ।
धन्यवाद!
श्रृजना डट कम

About Me

My photo
Manbu-6,Gorkha, Kathmandu, Nepal
Most people ignore most poetry because most poetry ignores most people. - Adrian Mitchell