शहरमा !


-प्रकाश थाम्सुहाङ


मानौँ,
कुनै आख्यानको
अथवा कुनै कविताको
सर्वाल्टन पात्र म
यो शहरको सिंहदरबारलाई उल्टो घुम्दै
यो शहरको धरहरा, घन्टाघरहरूलाई उल्टो घुम्दै
यात्रामा आफू खोज्दै हिँडिरहेछु
आफू यात्रामा खोज्दै हिँडिरहेछु
हो,
म सुदुरपूर्वको एउटा गाउँले
यो शहरमा
अस्तित्ववादीको जिकिर गर्दै हिँडिरहेछु

म एक आउटसाइडर
म एक निषेधित विचार
म एक वर्जित चिन्तन
पिठ्युँमा रातो घाम बोकेर
बोक्दै टाउकोमा अजङ्गको पृथ्वी
सुनाउँदै इतिहासको लालमोहर
यो शहरको मुख्य सडकमा भर्खरै ढडिएको
नयाँ शालिकलाई देब्रे पारेर
म आदिवासी लुङा
यात्रामा आफू खोज्दै हिँडिरहेछु
आफू यात्रामा खोज्दै हिँडिरहेछु

उदेक लाग्छ,
सदियौँ मस्त सुतिरहेछ
यो निरङ्कुश शहर
यो शहर बराबर नेपाल
नेपाल बराबर यो शहर

किन ब्यूँझिएन अझै पनि
र तन्काएन आफ्नो आँखा
उसकै परिधिभन्दा बाहिर ?

अब, छिचोलोर यो शहरको अध्याँरो तह
हिँडेर अँध्यारो गल्ली
म पुग्नेछु प्रत्येक चोकहरूमा
भवनहरूमा, मनहरूमा
र खोज्नेछु मेरो नागरिकता नम्बर
टेक्दै पाइतालाले अँध्यारो
प्रत्यक सरकारी कम्प्युटरको फाइलहरूमा
खोज्नेछु मेरो जिन्दगीको पासवर्ड

म यायावर
समग्र नेपाल खोज्दैछु
नेपाल, नेपाल, नेपाल खोज्दैछु ।

No comments:

About Me

My photo
Manbu-6,Gorkha, Kathmandu, Nepal
Most people ignore most poetry because most poetry ignores most people. - Adrian Mitchell