शहरमा !


-प्रकाश थाम्सुहाङ


मानौँ,
कुनै आख्यानको
अथवा कुनै कविताको
सर्वाल्टन पात्र म
यो शहरको सिंहदरबारलाई उल्टो घुम्दै
यो शहरको धरहरा, घन्टाघरहरूलाई उल्टो घुम्दै
यात्रामा आफू खोज्दै हिँडिरहेछु
आफू यात्रामा खोज्दै हिँडिरहेछु
हो,
म सुदुरपूर्वको एउटा गाउँले
यो शहरमा
अस्तित्ववादीको जिकिर गर्दै हिँडिरहेछु

म एक आउटसाइडर
म एक निषेधित विचार
म एक वर्जित चिन्तन
पिठ्युँमा रातो घाम बोकेर
बोक्दै टाउकोमा अजङ्गको पृथ्वी
सुनाउँदै इतिहासको लालमोहर
यो शहरको मुख्य सडकमा भर्खरै ढडिएको
नयाँ शालिकलाई देब्रे पारेर
म आदिवासी लुङा
यात्रामा आफू खोज्दै हिँडिरहेछु
आफू यात्रामा खोज्दै हिँडिरहेछु

उदेक लाग्छ,
सदियौँ मस्त सुतिरहेछ
यो निरङ्कुश शहर
यो शहर बराबर नेपाल
नेपाल बराबर यो शहर

किन ब्यूँझिएन अझै पनि
र तन्काएन आफ्नो आँखा
उसकै परिधिभन्दा बाहिर ?

अब, छिचोलोर यो शहरको अध्याँरो तह
हिँडेर अँध्यारो गल्ली
म पुग्नेछु प्रत्येक चोकहरूमा
भवनहरूमा, मनहरूमा
र खोज्नेछु मेरो नागरिकता नम्बर
टेक्दै पाइतालाले अँध्यारो
प्रत्यक सरकारी कम्प्युटरको फाइलहरूमा
खोज्नेछु मेरो जिन्दगीको पासवर्ड

म यायावर
समग्र नेपाल खोज्दैछु
नेपाल, नेपाल, नेपाल खोज्दैछु ।

छेकिएका हिमश्रृंखलाहरु

डा.मधु माधुर्य


बुढानीलकण्ठमा विष्णुलाई नागमाथि विराजमान देख्छु
नागलाई महादेवको गलामा बेरिएको देख्छु
कतै क्लेओपाट्राको चुल्ठोमा पनि देख्छु...
जब-जब विशिष्ट सम्मानहरुको यो इतिहासबाट प्रेरित हुन्छु म
वात्सल्य ममताको दूध र्सपहरुलाई आफ्नै हातले पिलाउँछु म
तिनै र्सपहरुले फणा उठाउँदा -
सगरमाथा पनि हिजोआज
होचो देखिन थालेको छ !
तिनै र्सपका प्रेमालु ठुँगाईबाट सहिद हुनेहरु
संयमताको प्रदर्शनमा बुद्धझैँ मौन छन्
जब-जब साँपहरु अस्तित्व देखाउन हरियो घाँसमाथि उठ्छन्
अग्ला-अग्ला हिमश्रृंखलाहरु पनि होचा देखिन थालेका छन् ।


महिनैपिच्छे हरियो घाँस दिएर पालेको छाडा बसाहा -
पशुपतिनाथको जस्तो समाधिस्थ होइन, निकै चुलबुले छ
सहरको शोभा सम्झनेहरुलाई पनि कलात्मक आकृतिझैँ भ्रम छ
पुच्छरले काउकुति लगाउँदै खुरले दबाउने बसाहा -
जब-जब काम देखाउन तीखो सिङ लिएर डाँडामा बुद्रुक-बुद्रुक उफ्रन्छ
सगरमाचा पनि हिजोआज
होचो देखिन थालेको छ ।


बसाहा र साँपहरुको जंगलमा छु म
त्यसैले त निलडाम र घाउहरुले सजिएको छु
शताब्दीका पानाहरुमा जीवनको परिभाषा बदलिएको छ
टुलुटुलु अवलोकन, सहन र मौनतामा जीवन रोकिएको छ
अर्थात् कविता रोकिएको छ र थिचिएको छ
कविता छेकिएको छ र अस्वीकृत छ
कविता लेखिनु नलेखिनुको एउटै अर्थ छ
कविता सबैतिरबाट छेकिएको छ, पुरिएको छ
त्यसैले कविता-लेखनको नयाँ आन्दोलन सुरु गर्दैछु
अझै नकुच्चिएको फणामा कविता लेख्दैछु
अझै नभाँचिएको सिङमा कविता लेख्दैछु
अस्तित्व देखाउन डाँडाहरुमा
जब-जब बसाहा र साँपहरु उठ्ने छन्
मान्छेका कविताका सामुन्ने
हिमशृखलाहरु पनि होचा देखिन थाल्नेछन् !!

हार्मोनियम


विक्रम सुब्बा

सप्तकोशीको तार सप्तक
सप्त गण्डकीको मध्य सप्तक
सप्त कर्णालीको मन्द्र सप्तक
एक्काइस स्वरहरूको यो हार्मोनियम

हार्मोनियमको कुनै पनि पर्दा थिचेर
आफ्नो गीत थाल
तर हार्मोनियम नै फुटाए
सरगम पनि टुट्नेछ
र कुनै मीठो संगीत बज्ने छैन

'म बाँचे भने भगवान मर्छ'

उमेश राई 'अकिञ्चन' (विराटनगर)

एक हरफ शब्दले
संसार जित्न खोज्ने
ए कवि !
कोर एउटा
नानी रोएको आवाजजस्तो कविता

छापामारको कैमोफ्लेज लुगाजस्तो
टाटे पाङग्रे
विश्वको नक्सामा
ए भिक्षु !

विपरित बहिरहेछ हावा
उल्टो फरफराइरहेछ झण्डा
फर्काउ
पानको पात पाइला नाघेर
सिमाना काटिरहेका
घामलाई

कि त रोएर
कि त हाँसेर सकिने
जिन्दगीलाई
यसरी जोड
ए दार्शनिक !

पुथ्वी घुमे जस्तो
फेरि फेरि
नदोहोरियोस्

कलिलो फूलको गुनासो

'म मरे भने भगवान बाँच्छ
म बाँचे भने भगवान मर्छ' ।

मित्र अग्नीशिखालाई संझँदै


राजव
(Courtesy:www.nepalikavita.com)

रातो कलम मनपर्थ्यो उसलाई
रातो कलम
त्यही रातो कलमले लेख्यो उसले
अन्धकार विरुद्ध

रातो कलम मनपर्थ्यो उसलाई
रातो कलम
त्यही रातो कलमले लेख्यो उसले
महल विरुद्ध

रातो कलम मनपर्थ्यो उसलाई
रातो कलम
त्यही रातो कलमले लेख्यो उसले
निर्ममको विरोध

बोल्न नदिने
लेख्न नदिने
संसारका शासक विरुद्ध
उसलाई मनपर्थ्यो रातो कलम
त्यही रातो कलमले लेख्यो उसले
वर्वर तानाशाहको खवर

रातो कलम मनपर्थ्यो उसलाई
रातो कलम
त्यही रातो कलमले लेख्यो उसले
लोकतान्त्रिक कविहरूको प्रशंसा

रातो कलम मनपर्थ्यो उसलाई
रातो कलम
त्यही रातो कलमले लेख्यो उसले
उत्पीडितहरूको आवाज
रातो कलम मनपर्थ्यो उसलाई
रातो कलम
त्यही कलम थियो उसको विचार

रातो कलम मनपर्थ्यो उसलाई
रातो कलम

सुन्दरीको सुन्दरता


चन्द्र गुरुङ्ग

तिम्रो आँखाको गहिराइभन्दा
परेलीको डिल-डिलमा रङ्गरोगन गरिएको
कालो गाजल राम्रो !
लालुपाते ओँठहरूभन्दा
ती ओँठका भित्ता-भित्तामा पोतिएको
चकिलो लिपिस्टिक राम्रो !
नाकभन्दा पनि
नाकमाथि सजेको चिटिक्क फुली राम्रो !
दुइ कानहरूभन्दा त
कानै चुडाउने गरी
पिङ खेलिरहेको चमचम यार्लिङ राम्रो !
लामा-लामा औँलाहरूभन्दा
वासनादार नेलपालिस नै राम्रो !
तिमीभन्दा बढी
तिम्रो भित्री अङ्गहरूलाई छोप्न अर्समर्थ
डिजाइनदार छोटो ड्रेस राम्रो !
र तिम्रो शिरभन्दा पनि
काटछाँट पारिएको हेयर स्टाइल झन् राम्रो !

ए सुन्दरी झ्
तर एउटा कुरो
भन त
कता छ तिम्रो आफ्नो सुन्दरता ?!

हाँसो

SWORGIYA SWOPNIL
Born in Panchthar in 2038 B.S., Sworgia Swopnil is an emerging poet and one of the members of Rabgabadi Anadolan led by poet Dharmendra Bikram Nembang in the Nepali literary tradition. He started writing four years ago. He published his first collection of poems Rangai Ranga Ko Bhir (Ranga Shahitya, 2061 BS). He vehemently revolts against any pre-established form in poetic tradition. He says, “Any categorical form cannot hold a criteria for a poem. “ Reading his poems is similar to the experience of reading poems of great avant-gardist poets like Robert Creely and Charles Bernstein. Sometimes he appears more experimental in his radical poetic forms. Perceptual quality of experiences in language is the hallmark of Swopnil’s poems.


-स्व.स्वप्नील स्मृति


त्यसो त हाँस्न कहाँ पाइन्छ र -

आइन्दा दाँत नदेखाउनू !
चुप रहनू !!
क्षितिजजस्ता ओठहरु नखुलाउनू !!!

बहुराष्ट्रिय कम्पनीको ‘टुथपेस्ट’ सरकार
निकम्मा ‘बु्रस’ः
अध्यादेशले गीजा घोटेर
फिंज काडी-काडी हाँस्दछ- खित्का प्रोपोगाण्डा ।

आइन्दा आँखामा योवनको मुस्कान नबाल्नू !
ढुक्ढुकीको गति राम्ररी सम्हाल्नू !!

तर, हाँसेकै छन् जङ्गलमा फूलहरु
म्यूजियममा टाँगिएका बादशाहका खोपडीहरु
हाँसेकै छन् दन्तेकथाहरुमा
कथित देवी अनि शूम्भ निशूम्भहरु ।

नेता महानगरीको गाईजात्रामा हाँसिरहेछन्
जनता गाईजात्राको महानगरीमा हाँसिरहेछन्

सरकार
मुस्कुराइरहेका यूवकका हिमालजस्ता दाँत गनिरहेछ
र, गनिरहेछ गोलीका दानाहरु ।

वेश्याहरू
सम्भोगपछिका भद्दा लिङ्गहरु सम्झेर हाँसिरहेछन्
सरकार देखेर
म पनि त हाँसिरहेछु ।

About Me

My photo
Manbu-6,Gorkha, Kathmandu, Nepal
Most people ignore most poetry because most poetry ignores most people. - Adrian Mitchell