कठघरामा उभिएर


नवराज सुब्बा


हो ! हो ! हो !
म सत्य सत्य बोल्दैछु
आमाको परिभाषा म केवल आमा बुझ्दछु
जोड्दछु नाता नानाथरि
तर कदापि तोड्दिन यो नाता
कतिञ्जेल केरिरहन्छौ !
हिरासतमुक्त गरिदेऊ मलाई
अन्यौलबाट, रिक्तता, तिक्तताबाट मुक्त गरिदेऊ ।

भन, ती को हुन् -
जसले तिमीलाई काखमा राखेर बुबु खुवाइन्
माया गरेर बुइ चढाइन्
उनैको शरीरमा दिसापिसाब गरे पनि
पखालेर म्वाई खाइन् -
भन, काँडाले घोच्दाखेरी
हिंड्दा ठेस लाग्दाखेरी
बताऊ ए आरोपित !
रगत बग्दा त्रि्रो मुखैमा
पहिले को आइपुग्छ -
भन नसेलाउने न्यानो काख
र कहिल्यै ननिभ्ने आँखा कोसँग हुन्छ ?
अनि कसका छातीभित्र
दुःखका अपार सगर मात्र हैन
अथाह सुखको सागर पनि छ !

ऐया ! अब भो !
कति मीठा नमीठा सवालहरूले हिर्काइरहन्छौ !
ल भैगो म मेरो आत्मै खोलिदिन्छु
हो श्रीमान ! विकल्प सबै कुराको छ
तर छैन विकल्प जननीको
हुँदैन विकल्प आमाको
आमा निर्विकल्प सत्य हुन् ।

उहिले सानोमा रुँदाखेरी
'लौ हाँस-हाँस मेरो बाबु' भन्थिन् आमा
आज म आत्मर्समर्पण गर्दै
कठघराबाट उद्घोष गर्दैछु-
आमा ! एकफेर हाँसिदेउ न !
तिम्रो मुस्कान फर्काउन
म हिमाल भएर ठि...ङ्ग... उभिएको छु ।

तिमी जहाँ छौ म त्यहीँ छु
आखिर म नै तिमी र तिमी नै म हुँ
तिमी मेरो मुखमा झुन्डिएकी छौ
हृदयमा मुस्कुराइरहेकी छौ आमा
तिमी मेरो आत्माझैं अमर छौ
दूबो, ढुङ्गा छोएर बोल्दैछु-
आमा ! तिमी आत्माझैँ अमर छौ ।

(अनलाइन नेपाली साहित्य मञ्च बेलायतद्वारा आयोजित प्रथम अनलाइन विश्व वेभक्याम कविता प्रतियोगिता २०६४ मा प्रथम भएको कविता)

No comments:

About Me

My photo
Manbu-6,Gorkha, Kathmandu, Nepal
Most people ignore most poetry because most poetry ignores most people. - Adrian Mitchell